मुठ्ठीदानबाट विपद् कोष स्थापना

इनेप्लिज २०७२ मंसिर ५ गते १:५० मा प्रकाशित

कञ्चनपुर, ५ मङ्सिर । कञ्चनपुरको दोधारा चाँदनीका महिला स्वास्थ्य स्वयम्सेविकाले मुठ्ठीदान सङ्कलन गरी विपद्का लागि राहत र उद्धार कोष स्थापना गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाको चाँदनी उपस्वास्थ्यचौकीका महिला स्वास्थ्य स्वयम्सेविकाले त्यस्तो कोष स्थापना गरेका हुन् ।

महिलाले गाउँमा मुठ्ठीदान गरी सङ्कलन गरेको अन्न बेचेर रु १२ हजारको कोष खडा गरेका हुन् । उनीहरुले महाकाली विकास बैंकमा महिला स्वास्थ्य स्वयम्सेविका समन्वय समितिका अध्यक्ष धनसरा चन्द र कोषाध्यक्ष कृष्णदेवी चन्दको नाममा बैंक खाता खोलेका छन् । समितिका अध्यक्ष चन्दको नेतृत्वमा उपस्वास्थ्य चौकी क्षेत्रबाट मुठ्ठीदान सङ्कलन गरिएको थियो ।

समितिको कोष परिचालन निर्देशिका तयार भएको छ ।

दोधारा चाँदनीका बासिन्दा महाकाली नदी र जोगबुडा नदीको जोखिममा छन् । महाकाली नदीले विगतका वर्षमा दोधारा चाँदनीमा जनधनको ठूलो क्षति गरेको थियो ।

प्रतिक्रिया