उपप्रधानमन्त्री रावलले भने- एउटा धाराको पानी बन्द भए अर्को धाराको पानी खानैपर्छ

इनेप्लिज २०७२ मंसिर ४ गते १२:२५ मा प्रकाशित

Bhim-Rawal2-650x388

धनगढी, ४ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भारतको नाकाबन्दी जारी रहे पारवहनको वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने आसय व्यक्त गरेका छन् । भारतलाई लक्षित गर्दे उपप्रधानमन्त्री रावलले नेपालका लागि कलकत्तामा बन्दरगाह मात्र विकल्प नभएको वताए । उनले ‘भारतको कोलकत्ता मात्र होइन चीनको साँघाईमा बन्दरगाह छ’ भन्ने भूल्न नहने बताए । पारवहनका लागि चीनसंग भएको सम्झौता भारतकाविरुद्ध लक्षित छैन, उनले भने एउटा धाराको पानी बन्द भए अर्को धाराको पानी खानै पर्छ । दशै तिहार, छठ, नेपाल सम्वत र माघीका अवसरमा नेकपा (एमाले) कैलालीले धनगढीमा शुक्रवार गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री रावलले नाकावन्दी अमानवीय भएकोले तुरुन्त हटाउनुपर्ने धारणा राखे । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष समेत रहेका उपप्रधामन्त्री रावलले सवै जातजाति भाषाभाषीका नेपालीले गर्वले शिर ठाडो पार्न सक्ने संविधान जारी भएकोले अब कार्यान्वयनका लागि जुट्न आव्हान गरे । मधेस आन्दोलनतर्फ संकेत गर्दे उनले संसारमा कतै पनि एकैपटक संघियताको सीमांकन टुंगिएको छैन नेपालमा पनि अवका अनुभवका आधारमा सीमाको पुर्नसंरचना गर्न सकिन्छ भने । उनले प्रमुख दल र सरकार हरेक जिल्लाले एक निर्वाचन क्षेत्र पाउने गरेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तयार रहेको पनि बताए । सरकार भारत लगायत सवै छिमेकी तथा मित्र राष्ट्रसंग सुमधुर सम्वन्ध बनाउन औपचारिक र अनौपचारिकरुपमा प्रयास भइरहेको जानकारी दिदै उपप्रधानमन्त्री रावलले चाँडै दुःखका दिन सकिने विश्वास गर्न आग्रह गरे । सुदूरपश्चिमबासी लामो समयदेखि मिलेर वसेको चर्चा गर्दे उनले थारु लगायतका समूदायलाई विगत झै दाजुभाई भएरै सात नम्वर प्रदेशमा मिलेर वस्न आग्रह गरे । एमालेले विगतमा थारु लागयतका पछाडि परेका समूदायलाई महत्वपूर्ण जिम्मेवारी दिएको चर्चा गर्दे उपप्रधानमन्त्री रावलले सरकारबाट थप सांस्कृतिक, भाषिक, आर्थिक र सामाजिक अधिकार दिलाउन आफू लाग्ने बताए । नयाँ संविधानमा सवैका अधिकार समेटिएका छन थारु, मधेसी, महिला,दलित, आदिवासी, मुस्लिम आयोग पनि छन उनले भन्नुभयो यस्ता अधिकार हुँदाहुँदै थारु समुदायले षड्यन्त्रको भूमरीमा पर्न हुँदैन । एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरु महेश्वर पाठक, गरिमा शाह, रामकुमार ज्ञवाली, लालबहादुर थापा, भैरबबहादुर सिंह, प्रकाश शाह, विक्रम शाही, निरा जैरु, झपट रावल, सेती र महाकाली अञ्चलमा पर्ने जिल्लाका जिल्ला अध्यक्ष, कैलाली स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, नागरिक, सामाजिक, शैक्षिक संस्थाका प्रमुखहरुको उपस्थिति थियो । सो अवसरमा सुदूरपश्चिम क्षेत्रलाई सात नम्वर प्रदेशकारुपमा अखण्ड राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै सुदूरपश्चिमको नक्सा उपहार र दोसल्ला ओढाएर उपप्रधानमन्त्री रावलको सम्मान पनि गरिएको थियो । यसैबीच प्रेस चौतारी नेपाल कैलाली शाखाले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा वोल्दै उपप्रधानमन्त्री रावलले संविधानले सवै समस्याको समाधान गरेको वताए । संघीय सीमाका विवाद आयोगले नै समाधान गर्ने पनि उनले बताए । चौतारीका जिल्ला अध्यक्ष मीन ठकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया