छठ सम्पन्न, अशान्त वातावरण चाँडै टुङ्गियोस्

इनेप्लिज २०७२ मंसिर २ गते २:१६ मा प्रकाशित

Chhathबर्दिवास, २ मङ्सिर । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ ।

कात्तिक शुक्ल चौथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले आज पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अघ्र्य दिए । यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यसैगरी मङ्गलबार षष्ठी तिथिका दिन निराहार व्रत बस्दै साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चारदिने पर्व सम्पन्न गरेका हुन् ।

व्रत समापनसँगै मिथिला क्षेत्रका घरघरमा अघ्र्य दिँदा सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार र केरासहितका फल प्रसादस्वरुप खाने खुवाउने क्रम चलेको छ । मिथिलामा लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको यो व्रतको प्रभावले सन्तान सुख प्राप्त हुने, चर्मरोग निको हुने र मनोवाञ्छित कामना पूरा हुने जनविश्वास छ ।

यसपालि पर्व समापन गरेका व्रतालुले भने मुलुकमा जारी अशान्त वातावरण चाँडै टुङ्गियोस् भन्ने कामना गरेका छन् । बिहान बर्दिवासको बारनचौडी पोखरीघाटमा व्रत समापन गरेकी बर्दिवास–३ की गायत्री शर्माले आफूले व्यक्तिगत आकाङ्क्षालाई पर सारेर सरकार, मुख्य दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता सफल होस् भन्ने कामना गरेको बताउनुभयो । बर्दिवाससहित महोत्तरीका अन्य गाउँनगर बस्तीका व्रतालुले पनि आजको वार्ता सफलताका लागि आफूहरुले भगवान् सूर्यसँग प्रार्थना गरेको बताएका छन् ।

विराटनगर: उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठ पर्व सम्पन्न भएको छ ।
व्रतालु महिलाले बिहानै जलाशयमा प्रवेश गरेर छठीमाताको पूजापाठ गरी प्रसादका रुपमा रहेको ठेकुवा, केरा, मिठाइ लगायत सामग्री अघ्र्यका रुपमा उदाउँदो सूर्यलाई अर्पण गरे । मोरङको ग्रामीण क्षेत्रका साथै विराटनगरमा पनि धार्मिक विधिपूर्वक धूमधामका साथ यो पर्व मनाइएको हो ।

प्रतिक्रिया