त्रिशूली थ्री ए जलविद्युत्को स्रोत उपयोग दुई जिल्लाले गर्ने

इनेप्लिज २०७२ मंसिर २ गते १:५५ मा प्रकाशित

त्रिशूली(नुवाकोट), २ मङ्सिर । जिविस नुवाकोट र रसुवाले बागेश्वरी–उर्लेनी सडक अन्तर्गत नुवाकोट–बोहोरेभन्ज्याङ सडक खण्ड तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय गरेका छन् ।

दुवै जिल्लाका स्थानीय विकास अधिकारीसहित प्राविधिक कार्यालयका इन्जिनियरसहितको मङ्गलबारको बैठकले निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको स्रोत उपयोग र करका विषयमा पनि दुवै जिल्ला संयुक्त रुपमा अघि बढ्ने निर्णय गरेको छ । बैठकमा दुवै जिल्लाको प्राकृतिक स्रोतको बाँडफाँट, विकास निर्माण लगायत विषयमा छलफल भएको थियो ।
बैठकमा नुवाकोट र रसुवाका स्थानीय विकास अधिकारी नारायण रिसाल र विष्णुप्रसाद कोइराला पनि सहभागी हुनुभएको थियो । सो सडकले नुवाकोटका बागेश्वरी, लच्याङ, हल्देकालिका, उर्लेनी, गेर्खु लगायत गाविस सहित रसुवाका यार्सा र सरमथली गाविसका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने जिविस नुवाकोटका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।

स्थानीय स्वायत्त शासन नियमावली, नियम २ सय ७३ ले स्थानीय निकाय संयुक्त समिति गठन गर्न र दुवै जिल्लाको साझा सरोकारका विषयमा निर्णय र कार्यान्वयन गर्ने अधिकार दिएको छ ।

प्रतिक्रिया