अवैध हतियार बनाउने दुईजना पक्राउ

इनेप्लिज २०७२ मंसिर १ गते ४:५३ मा प्रकाशित

pakraauबेनी (म्याग्दी), १ मङ्सिर । पश्चिम म्याग्दीको विकट गाविस मुदी– ७ खिबाङको देउरालीमा हतियार बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आरनमा हतियार बनाउँदै गरेको अवस्थामा माझफाँट– ८ पर्वतका डम्बरबहादुर विश्वकर्मा र मुदी– ७ का ओमबहादुर सुनारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

भरुवा बन्दुक बनाउने कार्यमा संलग्न भएको आरोप लागेपछि फरार भएका मुदी– ६ का धनबहादुर पुर्जा र केशबहादुर पुर्जाले गएको कात्तिक २२ गते प्रहरी कार्यालयमै आएर आत्मसमर्पण गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक हीराबहादुर गिरीले बताउनुभयो ।

उक्त अवैध तथा घरेलु हातहतियार जङ्गली जनावरको सिकारमा प्रयोग हुने गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको न्यून उपस्थितिको मौका छोपी हतियार बनाएर जङ्गलमा सिकार खेल्ने गरिएको प्रहरीको भनाइ छ ।

खुकुरी, तामाका गाग्री, ताउला, फलामका हँसिया, कुटो, कोदाली र घरायसी प्रयोजनमा प्रयोग हुने धातुजन्य वस्तु नयाँ निर्माण तथा मर्मतका लागि आरन भनिए पनि कारखानाबाटै तीन नाल भरुवा बन्दुक र ओमबहादुर सुनारको घरबाट एक थान भरुवा बन्दुक फेला परेको थियो ।

घरेलु पेस्तोल तथा अन्य हतियारसमेत बन्न सक्ने भएकाले स्थानीय र अभियुक्तबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता भएको हुँदा उनीहरुलाई सोहीअनुसार कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया