चियाको ‘मूल्य विवाद’ बल्झियो

इनेप्लिज २०७२ मंसिर १ गते ४:४२ मा प्रकाशित

Tea-Chiya-Nepalकाँकडभिट्टा (झापा), १ मङ्सिर । झापाका चिया उद्यमी र साना चिया किसानबीचको मूल्य विवाद पुनः बल्झिएको छ ।

हरियो चियापत्तीको मूल्य आधाभन्दा बढी घटाइएपछि विवाद बल्झिएको हो । किसान र नेपाल चिया उत्पादक सङ्घबीच २०७१ साल जेठ १९ गते सरकारका प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि र सम्बद्ध पक्षबीच भएको १० बुँदे सहमति विपरीत चिया कारखानाले हरियो चियापत्तीको मूल्य सूची प्रकाशित गरेपछि किसान आक्रोशित भएका छन् ।

यसै विषयलाई लिएर साना किसान झापाली चिया व्यवसायी सङ्घले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्न÷गराउन भन्दै जिल्ला प्रशासन कार्यालय झापामा सोमबार ज्ञापनपत्र बुझाएको छ ।

नेपाल चिया उत्पादक सङ्घले सहमति लत्याएका कारण साना चिया किसान अन्याय र शोषणमा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

भारतीय बजारलाई आधार मानी हरियो पत्तीको मूल्य निर्धारण गर्ने विगतको सहमतिलाई लत्याएर यहाँका चिया उद्योग आपूmखुसी मूल्य टाँस गर्ने, वैज्ञानिक वर्गीकरणको सहमति विपरीत प्रायोजित वर्गीकरण गरी १६ प्रतिशतभन्दा तलको हरियो चियापत्तीको कारोबार नगर्नेलगायतका कारणले किसान आर्थिक शोषणमा परेको उनीहरूको आरोप छ ।

“विसं ०७१ जेठमा भारतीय बजारलाई आधार मानेर त्यसमा नेपाली रु तीन घटाएर मूल्य तोक्ने सहमति भएको थियो” – साना किसान झापाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्ण कार्की भन्नुहुन्छ – “वार्ताको टेबलमा गरेको सहमति र सम्झौताका अक्षरको मसी सुक्न नपाउँदै उल्लङ्घन गर्ने चिया उद्योगीका कारण किसान अन्यायमा परेका छन् ।”

उहाँले किसानको लडाइँ चियापत्तीको मूल्यमा भन्दा पनि भएका सहमति र सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभयो ।
साना चिया किसानले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले किसानका समस्या समाधानमा पहल नगरी उद्योगीको गलत प्रवृत्तिलाई मलजल गरेको आरोप लगाएका छन् ।
उद्योगी र किसानबीच प्रायः बर्सेनि मूल्य विवाद बल्झने गर्छ । अहिले हरियो चियापत्तीको मूल्य रु छदेखि रु १० सम्म दिने मौखिक सहमति भएको किसान बताउँछन् । उद्योगीलाई हरियो पत्ती बिक्री गर्दा लागत खर्च पनि नउठ्ने भन्दै किसान चिन्तित भएका छन् ।

प्रतिक्रिया