प्राङ्गारिक मल उद्योगद्वारा व्यावसायिक उत्पादन सुरु

इनेप्लिज २०७२ कार्तिक २९ गते १:५४ मा प्रकाशित

कञ्चनपुर, २९ कात्तिक । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बञ्जरीमा रहेको कञ्चन प्राङ्गारिक मल उद्योगले पूर्ण क्षमताका साथ व्यावसायिक उत्पादन सुरु गरेको छ ।

कृषि मन्त्रालयको माटो व्यवस्थापन निर्देशनालयको औजार खरिदअन्तर्गतको ५० प्रतिशत अनुदानको रु १९ लाख ५० हजार र उद्योग सञ्चालकको रु २५ लाख गरी रु ४४ लाख ५० हजारको लगानीमा उद्योग स्थापना भएको हो ।

स्थानीय कच्चा पदार्थको प्रयोग गरी उद्योगले मल उत्पादनमा जोड दिएको उद्योगका सञ्चालक चूडामणि जोशीले बताउनुभयो ।

स्थानीयस्तरमा पाइने झारपात, सहरी फोहरमैला, घाँस, स्याउला, सोत्तर, भुषा, पिना, कुखुराको सुली, वोनमिल, प्रेसमड र उद्योगबाट निस्कने फोहरमैलाको प्रयोग गरी मल बनाइन थालेको उहाँले जानकारी दिनुभयो ।

उद्योग सञ्चालनमा आएको एक सातामै छ मेट्रिक टन बढी मल उत्पादन भई बिक्री भइसकेको छ ।

सरकारले तोकेको रु १० प्रतिकिलो अनुदानमा कृषकलाई मल उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ उहाँले भन्नुभयो । इन्धन अभाव र सीमा क्षेत्रमा देखिएको तनावले रासायनिक मल नपाइएपछि कृषकले प्राङ्गारिक मलको माग गर्न थालेको उहाँको भनाइ रहेको छ । “मलको माग बढी आएकाले उद्योग पूर्ण क्षमताका साथ सञ्चालन गरिएकोछ” सञ्चालक जोशीले भन्नुभयो ।

उद्योगको वार्षिक मल उत्पादन क्षमता सात हजार दुई सय मेट्रिक टन रहेको छ । “वार्षिक रुपमा उद्योगले रु १८ करोडको मल उत्पादन गर्ने क्षमता राख्छ” – सञ्चालक जोशीले भन्नुभयो ।
सुदूरपश्चिम क्षेत्रमै पहिलोपटक स्थापना भएको प्राङ्गारिक मल उद्योगले रासायनिक मुक्त मल उत्पादन गरी माटोको उर्वरा शक्ति बढाउने लक्ष्य लिएको छ ।

माटोको उर्वराशक्ति बढाउने, माटोमा चिस्यान कायम राख्ने र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव नपार्ने भएकाले मल बजारमा सहजै बिक्री हुनेमा विश्वस्त रहेको जोशीले बताउनुभयो । उद्योगबाट उत्पादित मलमा प्रयोगशालाले तोके बमोजिमको नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा रहेको सञ्चालको दाबी रहेको छ ।

पचास किलोको बोरामा उपलब्ध मलको मूल्य रु एक हजार २५० निर्धारण गरिएको छ ।

प्रतिक्रिया