नेपालबाट सगुनको दोस्रो संस्करण विश्वव्यापी रुपमा सार्वजनिक

इनेप्लिज २०७२ कार्तिक २६ गते १०:४५ मा प्रकाशित

Sagoon345

नेपाली मौलिकपन र विश्व प्रविधिलाई एकै ठाउँमा ल्याई विकास गरिएको ‘सगुन’ को दोस्रो संस्करण सार्वजनिक विश्वव्यापी रूपमा नेपालबाट गरिएको छ। उक्त सञ्‍जालको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सगुनले लिएको उद्देश्‍यमा नेपाल सरकार र व्‍यक्तिगत साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्‍यक्त गरे । उनले भने, ‘यो प्रविधिको विकासमा कोसेढुंगा सावित भई नेपालव्‍यापी, जनताव्‍यापी र विश्‍वव्‍यापी रूपमा मानवताको पहिचानलाई जोड्‍न सकोस्।’
सगुनका फाउन्डर गोविन्द गिरीले ‘सगुन’ प्रविधिको माध्‍यमबाट नयाँ सोचको प्रवद्र्धन गर्ने उपयोगी थलो भएको बताए। उनले भने, ‘सूचनालाई विश्‍वभर बाँडेर ज्ञान आदानप्रदान गर्ने र सोही समयमा पैसासमेत कमाउन सकिने सोचका साथ यसको निर्माण गरिएको हो।’
विश्‍वभर छरिएर रहेका नेपालीबीचमा भेटघाट, विचार-विमर्श साथै प्रविधिको माध्‍यमबाट नयाँ सोचको विकासमा सहयोग पुग्‍ने उनले बताए।
पूर्वमुख्‍यसचिव लीलामणि पौडेलले सगुनले सामाजिक रूपमा विश्‍वका मानिसलाई एकसाथ रचनात्‍मक सोच र काम गर्न प्रोत्साहित गर्नेमा आफूले पूर्ण विश्‍वास लिएको बताए।
सगुन देशको आर्थिक विकास गर्न, रोजगारीको अवसर सिर्जना गर्न र नेपाललाई सामाजिक सञ्‍जालमार्फत विश्वसामु चिनाउन सफल हुने विश्वास व्यक्त गर्दै बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले यसमार्फत नेपालीले देश बनाउन रचनात्‍मक भूमिका खेल्‍ने सक्ने बताए।
उनले भने, ‘अब नेपाल बनाउन नेताहरूको भरमात्र परेर होइन, हामी आफैं पनि लाग्‍नुपर्छ, जसरी सगुनको टिमले विदेशमा बसेर स्वदेशका लागि नयाँ सोच र रचनात्म‍क काम गरेको छ।’ उनले विदेशमा बस्न‍े नेपालीलाई सरकारले आग्रह गरे नेपाल बन्‍न धेरै समय कुर्नुनपर्ने भन्‍दै नेपालीलाई नै साथ लिनुपर्ने बताए।
सगुनका को-फाउन्डर कबिन सिटौलाले विश्‍वले प्रविधि प्रयोग गरेर कायापलट गरिसकेकाले अब यसको उपयोग नेपालीले गर्नुपर्ने बताए । उनले भने, ‘अब नेपाललाई विश्‍वभर चिनाउने एकमात्र उपाय ‘टेक्‍नोलोजी वार’ हो। यसका लागि नेपालीले रचनात्‍मक भूमिका खेल्‍नुपर्ने समय आएको छ। प्रविधिलाई आत्मसात गरी विश्‍वभर नाम र दाम कमाएर देशलाई चिनाउनुपर्ने छ।’
प्रविधि नै परिवर्तन र विकासको सशक्त माध्‍यम भएको दाबी गर्दै सगुनका लागि नेपाल प्रतिनिधि अखिल सिटौलाले भने, ‘सगुनको प्रविधि र सोच अन्य सामाजिक सञ्जालभन्दा फरक रहेको छ  यसले नेपालीलाई एक ठाउँमा ल्याई विभिन्‍न अवसर जुटाइदिने तयारी गरेको छ।’
सगुन, पूर्वीय दर्शन र प्रचलनअनुसार कुनै पनि कामका लागि थालनी गर्दा दिने मिठो वस्तु, जसले चाहेको काम र उद्देश्य पूरा गर्ने शक्ति र सामर्थ्‍य दिने विश्वास गरिन्छ।
यति बेला नेपालीको एउटा समूहले त्यस्तै सगुन संसारलाई उपहार दिइरहेको छ। सगुन अर्थात् सगुन डट कम (सामाजिक सञ्जाल) पूर्वीय चिन्तन र दर्शनदेखि पश्चिमा विचारसम्मलाई एकै ठाउँमा समेट्ने योजनाका साथ चुचुरो चुम्ने अभियानमा होमिइसकेको छ।   (पेन्टागन छाडेर सगुनतिर)
अमेरिकामा बस्ने नेपालीको समूहले प्रविधि र सामाजिक सञ्जालको भविष्य उज्ज्वल देखेर सुरु गरेको यो कार्यले सफलताका सिँढी चढ्न थालिसकेको छ।
सगुनलाई संसारकै नम्बर एक सामाजिक सञ्जाल बनाउने नेपाली सपनाले बिस्तारै भारतीय, चिनियाँ र पश्चिमालाई डो याइरहेको छ । दिनप्रतिदिन सगुन डटकम साइन अप गर्नेको ग्राफ उकालो चढ्दैछ।
पेन्टागनका जागिरे गोविन्द गिरीको अगुवाइमा कविन सिटौलासहितको समूहले सगुन जन्माएका हुन्। आफ्नो यात्रामा सगुनले आइतबारदेखि अर्को एक खुड्किलो चढ्दैछ।
सामाजिक सञ्जालले बिरलै ध्यान दिने संस्करण (भर्सन) सार्वजनिक गर्ने थालनी सगुनले नेपालबाट गरेको छ । सगुन डट कमको पहिलो संस्करण अमेरिकाबाट सार्वजनिक गरेको सगुन समूह यति बेला नेपालमा छ।
नेपालबाट यसको दोस्रो संस्करण सार्वजनिक गरेर नेपालीले थालेको सामाजिक सञ्जालमा नेपालीकै सहयोग लिने र छुट्टै स्थान बनाउने उनीहरूको सपना छ।गिरी भन्छन्, ‘हामीलाई सहयोग गर्छौं भनेर आउनेको संख्या बढिरहेको छ। हामी अर्थपूर्ण सहभागिता र अर्थपूर्ण सामाजिक सञ्जालको परिकल्पना गरिरहेका छौं र नेपाली उत्पादन विश्वबजारमा पुर्‍याउँछौं।’
सगुनले अघि सारेको थिम हो कनेक्ट, सेयर एन्ड अर्न अर्थात् सामाजिक सञ्जालमा जोडिनुहोस्, आफ्ना अनुभव र सकारात्मक सिकाइ करोडौंका बीचमा बाँड्नुहोस् र केही कमाउनुहोस्। गिरीले भने,’हामी खुसी र सकारात्मक विश्व बनाउन चाहन्छौं। सामाजिक सञ्जाललाई सकारात्मक सिकाइ र अनुभव साट्ने थलो बनाउने हाम्रो उद्देश्य अन्य सामाजिक सञ्जालको भन्दा भिन्न पहल हो।’
‘हामी सगुनमार्फत सकारात्मक कुरालाई मात्रै बढावा दिन चाहन्छौं। हाम्रो समूह त्यसैलाई मूल मन्त्र मानेर दौडिरहेको छ’, सगुनका अर्का अभियन्ता सिटौलाले थपे । सामाजिक सञ्जालका अधिक प्रयोगकर्ता रहेको भारतमा सगुनले आफ्नो सञ्जाल विस्तार गर्न थालिसकेको छ।
‘भारतीयको पनि सगुनप्रति ठूलो सहयोग र सद्भाव रहेको छ, दक्षिण एसियाको उत्पादनलाई प्रोत्साहन र प्रयोग गर्नेमा भारतीय सहमत छन्’, सगुनकी दक्षिण एसिया संयोजक स्वाती दयालले अन्नपूर्णसँग भनिन्।
उनले भारतीय सेलिब्रिटी समेत दक्षिण एसियाबाट विश्व यात्रामा निस्किएको सगुनलाई साथ दिन तयार रहेको सुनाइन्। सगुनको एन्ड्रोइड एप्स केही महिनाभित्रै भारतको मुम्बइबाट सार्वजनिक गर्ने योजना उनीहरूले बनाएका छन्।
सगुन थाल्नुअघि गिरी समूहले लामो अनुसन्धान गरेको थियो । अनुसन्धानपछि मात्रै करोडौं रुपैयाँ खर्च गरेर सगुन थालेका हुन्। पेन्टागनको जागिर छोडेपछि गोविन्द र समूहले गुगल र याहुमाथि अनुसन्धान थालिसकेका थिए।
गुगल र याहुमा भएका कमजोरी खोज्दै नयाँ सर्चइन्जिन र सामाजिक सञ्जाल बनाउने उनको सपना थियो । लामो अनुसन्धानपछि धेरै नयाँ फिचरसहित सगुन सर्च इन्जिन २००९ मा उनीहरूले सार्वजनिक गरेका थिए।
‘सगुन आएपछि अमेरिकामा खैलाबैला मच्चियो। मलाई गुगलले फोन गर्‍यो। अहिले फेसबुकमा भएकी सर्लियाले पनि मलाई फोन गरेर के चाहियो भनेर सोधेकी थिइन्’, गिरीले सम्झिए। छलफलकै क्रममा सगुन टिमले याहुसँग समझदारी गर्‍यो। ‘यसले हामीलाई उचाइमा पुग्न सकिन्छ भन्ने आत्मविश्वास झन् बढायो’, गिरीले भने।
सर्च इन्जिन बनाउने बेला गिरी समूहले धेरै नाममाथि विचार विमर्श गर्‍यो। ‘बोल्न र सम्झिन सजिलो नाम खोज्दा सगुनमा पुगेर अडियौं,’ सिटौलाले भने। एसियन र नपाली नाम ब्रान्डिङ गर्ने उद्देश्यले सगुनको स्पेलिङ बदलेर सगून (एसएजीओओएन) बनाए । त्यही सर्च इन्जिन गत वर्षदेखि सामाजिक सञ्जालका रूपमा आएको छ।
गिरीले भने, ‘अबको युग सोसल नेटवर्क र सूचना बाँडफाँट नै हो। अर्थपूर्ण सूचना बाँडफाँट र आदानप्रदानले नै समृद्ध र खुसी समाज बनाउँछ भन्ने निष्कर्ष हो’, गिरीले भने।

हाल संयुक्त राज्य अमेरिका, भारत र नेपालमा गरी करिब ३० कर्मचारीले सगुनमा काम गरिरहेका छन्। सगुन समूहले फेसबुकमा नभएका धेरै विशेषता ल्याएको छ।

 ‘सगुन’ मा के- कस्ता विशेषता छन् ?
‘सगुन’ फेसबुक, ट्विटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्रामजस्तै एउटा सामाजिक सञ्‍जाल हो। यसमा अन्य सामाजिक सञ्‍जालमा जस्तो सूचना र ज्ञान आदानप्रदानमात्र नभएर पैसा कमाउन सकिन्छ। सगुनमा अन्य सामाजिक सञ्‍जालमा जस्तै म्यासेजिङ विशेषता रहेको छ।
यसका अतिरिक्त यसमा खाता खोल्दा, साथी बनाउँदा, सेक्रेट म्यासेज पठाउँदा साइटमा इन्गेज भएर पुरस्कार प्राप्त हुन्छ। वेबसाइटमै सोसल स्मार्ट कार्ड, व्यक्तिगत तथा व्यावसायिक पेज भएको साइट खुल्छ।
यस्तो पेज भएको साइट अमेरिकामा रहेर कार्यरत नेपाली इन्जिनियर गोविन्द गिरीले स्थापना गरेको कम्पनी सगुन इंकले निर्माण गरेको सफ्टवेयर हो। धनकुटाको लेगुवामा जन्मिएका गोविन्द गिरीले पेन्टागनमा सन् २००३ देखि कम्प्युटर इन्जिनियरका रूपमा काम गरेका थिए।
उनले पेन्टागनमा सिस्टम इन्जिनियरका रूपमा काम गर्दा सगुनको सफ्टवेयर विकास गरे। गुगलजस्तै सर्च इन्जिन बनाउने प्रयास गरेका उनले लामो अनुसन्धानपछि नयाँ विशेषतासहितको ‘सगुन डट कम‘ सर्च इन्जिन सन् २००९ मा बाहिर ल्याएका हुन्।
सोही सर्च इन्जिन गत वर्षबाट सामाजिक सञ्जालको रूपमा आएको हो।प्रयोगकर्ताले यसमा खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा पाँच डलर प्राप्त गर्छन्।
त्यसै गरी अन्य गतिविधिबाट जम्मा भएको रकम निश्चित समयपछि सगुन इंकले आधिकारिकता प्रदान गरेका विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिन्छ। यसलाई सगुन सोसल स्मार्ट कार्डको रूपमा समेत प्रयोग गर्न सकिने आईसीटी नेपालका संस्थापकसमेत रहेका अखिल सिटौलाले बताए।

सगुनभित्र छिरिसकेपछि बायाँ भागमा ‘टु-डु लिस्ट’ देखिन्छ, जहाँबाट प्रयोगकर्ताले आफूले गर्नुपर्ने कामलाई सेयर गर्न सक्नुहुन्छ। बीचमा अरूले हेर्न नमिल्नेगरी म्यासेजिङको व्यवस्था गरिएको छ भने दायाँ भागमा बिनाशब्द अरूको मुड परिवर्तन गर्न सकिने ‘मुड टल्क’ सेवा छ।अन्नपूर्ण पोस्ट बाट

 

 

प्रतिक्रिया