पर्वतको पातीखोला रेन्बो ट्राउट फार्म नेपालकै उत्कृष्ट

इनेप्लिज २०७२ कार्तिक २६ गते १:५८ मा प्रकाशित

machha farm (2)फलेवास (पर्वत), २६ कात्तिक । पर्वत जिल्लाको पहिलो बाजुङस्थित पातीखोला रेन्बो ट्राउट नेपालकै उत्कृष्ट फार्म घोषित भएको छ ।

विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ पातीखोला रेन्बो ट्राउट फार्म उत्कृष्ट मुलुककै उत्कृष्ट फार्म घोषित भएको हो ।

मुलुकभर सञ्चालित २९ फार्मलाई पछि पार्दै पातीखोला रेन्बो ट्राउट उत्कृष्ट घोषित भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

फार्मको स्वच्छता, पानीको अवस्था, उत्पादन, बिक्री वितरणको अवस्थालाई मूल्याङ्कन गर्दै मन्त्रालयले पुरस्कृत गरेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । पातीखोला रेन्बो ट्राउट फार्मले डेढ वर्षअघिदेखि उत्पादन थालेको हो ।

झन्डै ५० लाखको लागतमा उक्त फार्म सञ्चालनमा आएको थियो । फार्मका अध्यक्ष यमप्रसाद शर्माले पर्वत जिल्लामा नै पहिलोपटक सञ्चालनमा ल्याएको फार्म डेढ वर्षमा नै नेपालको उत्कृष्ट हुन सक्ने आफूले नसोचेको बताउँदै पुरस्कारले अन्य सफलता हात पार्न सहयोग गरेको बताउनुभयो । “पुरस्कार प्राप्त गरेपछि फार्मलाई अझै व्यवस्थित बनाउन प्रोत्साहन मिलेको छ” – उहाँले भन्नुभयो ।

फार्मले उत्पादित माछा पोखरा, पर्वतकै अम्बोट र बागलुङलगायतका क्षेत्रमा एक महिनाको अवधिमा रु दुई लाखभन्दा बढी मूल्यको माछा बिक्री गर्दै आएको छ ।

पर्वत जिल्ला असला माछाका लागि परिचित भएकाले चिसो पानी हुने क्षेत्रमा असला माछाको झल्को मेटाउने गरी रेन्बो ट्राउट माछापालनलाई कृषि विकास कार्यालय पर्वतले समेत प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया