पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरण अन्तिम चरणमा

इनेप्लिज २०७२ कार्तिक २५ गते ४:४८ मा प्रकाशित

d425dec44b84d63c4ec4c0f2a8297ea5_Lपोखरा, २५ कात्तिक । पोखराको छिनेडाँडामा निर्माण गरिन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ ।

पहिलो, दोस्रो र तेस्रो चरणमा गरी हालसम्म २७६ जना जग्गाधनीलाई रु ९५ करोड मुआब्जा वितरण गरिएको छ ।

विमानस्थल निर्माणका लागि आजसम्म २०८ रोपनी जग्गाको मुआब्जा जग्गाधनीहरुले बुझिसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका वरिष्ठ अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।

जसअन्तर्गत पहिलो चरणमा ७३ रोपनीको ५७ जना, दोस्रो चरणमा १२० रोपनीको १७८ जना र तेस्रो चरणमा १५ रोपनीको ४१ जनाले मुआब्जा बुझिसकेका छन् ।

अघिल्ला चरणमा मुआब्जा लिन छुटेका जग्गा धनीले मुआब्जा लिन आएमा म्याद बढाएर भए पनि मुआब्जा दिन सकिने परियोजनाले जनाएको छ । मुआब्जा वितरण कार्य सहज वातावरणमा सम्पन्न हुन लागेकाले अब विमानस्थलको निर्माण कार्य सुरु गरी अघि बढाउन सकिने भएको छ ।

अधिग्रहणमा घरटहरा परेका जग्गा धनीहरुले पनि मुआब्जा बुझेका छन् । परियोजनाले तेस्रो चरणको मुआब्जा वितरण कार्यक्रम पनि अन्तिम चरणमा भएको परियोजनाका सिनियर सुपरभाइजर दीपज्योति राजभण्डारीले जानकारी दिनुभयो ।

आगामी पुस मसान्तसम्म जग्गाधनीले मुआब्जा लिन सक्ने छन् । यस चरणमा १२५ रोपनी जग्गाको मुआब्जा वितरण गरिनेछ ।

परियोजनाले बाटो भएको जग्गाको प्रतिरोपनी रु ६४ लाख र बाटो नभएको जग्गाको प्रतिरोपनी रु ४८ लाख दिने गरेकोे छ । घर तथा टहराका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयले तोकेको मापदण्डअनुसार मुआब्जा वितरण गरिने कार्यक्रम छ ।

विसं २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर ३१०६ रोपनी जमिन अधिग्रहण गरिएकामा नपुग ६२९ रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थलको काम अघि बढाउन लागिएको हो ।

प्रतिक्रिया