हाम्रो सुन्दर नेपाल काव्यमय नेपाल बनोस् !

इनेप्लिज २०७२ कार्तिक १७ गते २३:१४ मा प्रकाशित

IMG_4754नेपालको राजधानी काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघको सातौं विश्व महाधिवेशनको एक सत्रमा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीबाट एनसीसी रूसको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा १५ अक्टोबर २०१५ (वृहस्पतिवार) का दिन भानुभक्तदेखि वर्तमान समयसम्मका नेपाली कविहरूको लेखनीबाट निसृत हाम्रो रमणीय मातृभूमि नेपाल र नेपालका विभिन्न स्थानहरूसित सम्बन्धित कविताहरूको सँगालो ‘काव्यमय नेपाल’ को विमोचन गरिएको थियो । तत्पश्चात् उक्त पुस्तक सम्माननीय प्रधानमन्त्री श्री के.पी.शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय श्री लोकेन्द्रबहादुर चन्द तथा श्री माधव नेपाल, पूर्वशिक्षामन्त्री श्री दीनानाथ शर्मा, वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली लगायत विशिष्ट व्यक्तिहरूमा उपहारस्वरूप प्रदान गरिएको थियो ।

Cover Kavyamaya Nepal (1) (1)

यहाँनेर उक्त पुस्तकको लामो परिचय दिनपट्टि नलागेर सुरुमै ‘काव्यमय नेपाल’ सङ्ग्रहको प्रकाशकीयबाट निम्न उद्धरण समावेश गर्नु समीचीन हुने ठान्दछु ः ‘प्रस्तुत सङ्ग्रहमा कविता–पुष्पहरूलाई टिपेर एउटै गाताभित्र समेट्ने जमर्को गरिएको छ । सर्वप्रथम कुन कुरामा जोड दिनु आवश्यक छ भने ‘काव्यमय नेपाल’ भनी न्वारान गरिएको यस सङग्रहमा देशको राजधानी काठमाडौंलगायत नेपालका विभिन्न ठाउँहरू (नगर, नदी, ताल, पर्वत, स्मारक आदिे) को बारेमा नेपाली कविहरूका भावाभिव्यक्तिहरूलाई स्थान दिने यथासम्भव प्रयास गरिएको छ । यस सङ्ग्र्रहका आधासयभन्दा बढी विभिन्न स्थानहरूको सन्दर्भमा विभिन्न शैली र विचारधारा राख्ने कविहरूद्वारा विभिन्न समय र परिस्थितिमा रचिएका कविताहरूलाई वर्णानुक्रमअनुसार यथास्थान समावेश गरिएको छ । छन्दोबद्ध कविताका प्रेमी पाठकहरूका साथै गद्यकविताका हिमायती पाठकहरूले पनि यस ‘काव्यमय नेपाल’ भित्र विचरण गरेर नेपाली कविताहरूको किञ्चित् रसास्वादन गर्न सक्ने छन् भन्ने विश्वास गरिन्छ’ (पृ. ३) ।

हाम्रा आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्ती समारोह मनाउने क्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा काठमाडौंमा गठित आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह मूलसमितिको निर्देशनानुसार मास्कोमा पनि कृष्णप्रकाश श्रेष्ठको अध्यक्षतामा गठित आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूस महासंघको निर्णयअनुसार नेपाली र रूसी भाषामा पनि भानु–समारोहप्रति समर्पित केही पुस्तकहरूको प्रकाशन गर्ने कार्यक्रम रहेको परिप्रेक्ष्यमा गैरआवासीय नेपाली संघका संस्थापक–अध्यक्ष डा. उपेन्द्र महतोबाट ‘काव्यमय नेपाल’ शीर्षकको पुस्तक प्रकाशनको व्ययभार ग्रहण गर्ने अग्रसरता देखाइएको हुँदा गैरआवासीय नेपाली संघको सातौं विश्वसम्मेलनमा उक्त पुस्तकको विमोचन सम्भव भएको हो । स्मरण रहोस्, रूसमा बसोवास गरिरहेका नेपालीहरूले विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रूपमा भानु–समारोह मनाउनुका साथै भारत र नेपालबाहिर सर्वप्रथम रूसको भूमिमा नै हाम्रा आदिकविको आवक्ष–प्रतिमा स्थापना गरेका छन् ।

IMG_4756भानु–समारोहप्रति समर्पित ‘काव्यमय नेपाल’ कवितासङ्ग्रहमा समाविष्ट प्रकाशन सहयोगी डा. उपेन्द्र महतोको मन्तव्यबाट एक सानो अंश यहाँ उद्धृत गर्ने अनुमति चाहन्छु । त्यसमा अंशतः भनिएको छ ः ‘रूसमा १२ वर्षअघि स्थापनाकालदेखि नै यस संस्था .(गैरआवासीय नेपाली संघ) संग सम्बद्ध रही लेखनकार्यमा संलग्न कृष्णप्रकाश श्रेष्ठबाट मेचीदेखि महाकालीसम्मको स्थाननामप्रति समर्पित कविताहरूको सङ्कलन ‘काव्यमय नेपाल’ भानु–समारोहप्रति समर्पित गरी प्रकाशन गर्ने उद्देश्यले तैयार पारिएको रहेछ । यस पुस्तकको शीर्षकले नै मेरो ध्यान आकर्षित गरेको थियो र यसमा नेपालको विभिन्न स्थानको सन्दर्भमा भानुभक्त आचार्यदेखि वर्तमान कविहरूसम्मका कविताहरू समेटिएको पाएँ । यसै बीचमा नेपालीहरूले महाभूकम्पजस्तो दैवी प्रकोपको सामना गर्नुपरेको र यसै सङ्ग्रहमा समाविष्ट केही कविताको स्रोत बन्न पुगेको नेपाली वास्तुकलाको धरोहरतुल्य धरहरा लगायत कैयौं भौगोलिक, सांस्कृतिक र धार्मिक स्मारकहरू धराशायी हुनुका साथै धनजनको अपूरणीय क्षति बेहोर्नुपरेको छ । यस्तो साझा दुःखमा समेत हतोत्साहित नभई देश निर्माणमा लाग्न तत्पर नेपालीहरूलाई राजनैतिक अस्थिरतालगायत विद्यमान विकट स्थितिबाट अधीर नभई देशप्रतिको दायित्व वहन गर्ने सत्प्रेरणा समेत ‘काव्यमय नेपाल’ मा समेटिएका कविताहरूबाट प्राप्त हुनेछ भन्ने आशा राखेको छु’ (पृ. ५) ।

Kavyamaya Nepal (1)कैयौं वर्षदेखि संकलन गरिएका विभिन्न भाव र छन्दका तर मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराई सम्मका ७५ वटा मात्र नेपालका स्थाननामहरूसित सम्बन्धित १२२ जना कविका झण्डै दुई सय कविताहरू ‘काव्यमय नेपाल’ शीर्षकको पुस्तकमा समेटिएका छन् । सम्पूर्ण स्रष्टाहरूप्रति कृतज्ञता ज्ञापन गर्नुका साथै म कुन कुरामा विश्वस्त छु भने नेपालका सबै जिल्लाहरूका साथै गैरआवासीय नेपाली संघको सञ्जाल रहेको विश्वका ७१ देशहरूमै रहेका नेपालीहरूले यस सङ्कलनमा समाविष्ट कविताहरूको रसास्वादन गर्नेछन् र पूर्व स्रष्टाहरूबाट प्रेरणा लिंदै भविष्यमा आपूm जन्मेको रमणीय थलोको विकासबारे चिन्तन गर्दै नेपाल–बाटिकामा मनोरम कविता–पुष्पहरू पनि फुलाउने छन् भन्ने आशा छ ।

अन्त्यमा सङ्ग्रहित कविताका स्रटाहरूप्रति आभार प्रकट गर्नुका साथै सर्वाधिकार स्रष्टाहरूमै रहेको जनाउनु आवश्यक ठान्दछु । यस पुस्तकको सम्पादनमा सघाउने भाइ तेजप्रकाश श्रेष्ठ, पुस्तक–प्रकाशनको व्यवस्था मिलाउनुका साथै परामर्श दिने निर्णेतावृन्द डा. जुगल भुर्तेल, डा. भीष्म आचार्य तथा डा. मणिराज पोखरेल, पुस्तकको साजसज्जासहित डिजाइन तयार पार्ने भाञ्जा–दम्पति समन श्रेष्ठ तथा प्रमिला प्रधानका साथै पुस्तक प्रकाशनमा सहयोग पु¥याउने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस पुस्तकको भावनात्मक खाकालाई साकार रूप दिन ठोस सहयोग गर्ने गैरआवासीय नेपाली संघका संस्थापक–अध्यक्ष डा. उपेन्द्र महतोको मन्तव्यको अन्तिम वाक्य सधन्यवाद दोहो¥याउन चाहन्छु ः ‘हाम्रो सुन्दर नेपाल काव्यमय नेपाल बनोस् !’
पुस्तक विमोचन फोटो सौजन्य ः जीबा लामिछाने ।
दिनाङ्क ः ३ नभेम्बर २०१५ (मङ्गलवार)
मास्को, रूस महासंघ ।

प्रतिक्रिया