गाविस कार्यालयमा तालाबन्दी, चिया पसलबाटै काम गर्दै गाविस सचिव

इनेप्लिज २०७२ कार्तिक १७ गते ११:४८ मा प्रकाशित

Talabandiलुम्बिनी (रुपन्देही), १७ कात्तिक । लामो समयदेखिको मधेस आन्दोलनका कारण तराईका बासिन्दाले निकै सास्ती व्यहोर्नु परेको छ ।

गाविसबाट हुने सरकारी कामकाज नियमित हुन नसक्दा घरजग्गाको तिरो बुझाउनेसम्मको सामान्य काम पनि गाविसबाट हुन सकेको छैन । त्यसकै लागि मात्र जिल्ला सदरमुकाम नै धाउन पर्ने स्थिति रहेको छ ।

अधिकांश गाविस सचिव कार्यालयमा जान नसक्दा गाविसबाट प्रदान गरिने सेवाबाट जनता वञ्चित भएका छन् । “गाविसमा जान सकिने अवस्था नै छैन, गाविस कार्यालयमा तालाबन्दी छ, कसरी खोलेर काम गर्ने ?,” धकधइ गाविस सचिव तथा गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रीय उपाध्यक्ष खगराज उपाध्याय भन्नुहुन्छ – “सरकारले आन्दोलनरत पक्षसँग बसेर समस्याको समाधान तत्काल निकाल्नु पर्दछ ।”

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो प्रभाव क्षेत्रमा पर्ने गाविस कार्यालयमा तालाबन्दी गरेका छन् । उपाध्याय भन्नुहुन्छ, “कार्यालय बन्द गरी तालाचाबी आफैंले राखेका छन् । अत्यावश्यक काम परेका व्यक्ति यहीँ (सदरमुकाम भैरहवा) आउँछन् । हामीले पनि जिल्लामै बसेर भएपनि सामान्य कामसम्म गर्ने गरेका छौँ ।”

रुपन्देहीको सालझण्डी, रुद्रपुर, फर्साटिकर, चिल्हिया, पडसरी, पअमूआबाहेक अधिकांश गाविस कार्यालय बन्द रहेका छन् । गाविस सचिवहरु जिल्ला विकास समितिको कार्यालय अगाडिका चिया पसलमा बसेर मालपोत काट्ने, नागरिकताको सिफारिस दिने, र व्यक्तिगत घटना दर्ता गरिरहेका देखिन्छन् ।

नाम नखुलाउने सर्तमा एक गाविस सचिवले भने – “गाविसको आम्दानी पनि त्यसै खेर गइरहेको छ । चेकसम्म पनि निकाल्न दिएका छैनन् । आफू त सुरक्षित हुन प¥यो नि । कि त सरकार ले छिटो समाधान दिनु प¥यो । नत्र समस्या समाधान नहुँदासम्म त गाविसमा जान सकिने अवस्था छैन ।”

गाविस कार्यालयमा तालाबन्दी भएर कार्यालय सञ्चालन गर्न नसक्दा अधिकांश गाविसका कर्मचारीलाई समेत तलब भत्ता खुवाउन नसकिएको गाविस सचिवले गुनासो गरेका छन् । “कर्मचारीलाई तलब खुवाउन पनि पाइएको छैन,” पजरकट्टी गाविसका सचिव रामप्रसाद शर्माले भन्नुभयो – “कार्यालय नखुल्दा विकास निर्माणका सम्झौतासमेत अलपत्र परेका छन् ।”

आमनागरिक अहिले सामान्य मालपोत तिर्न पनि जिल्ला नै धाउनु पर्ने अवस्था छ । अधिकांश गाविस सचिवको दुखेसो यही हो ।

“अधिकारका नाममा जनतालाई किन दुःख दिनु, वार्ताबाट जतिसक्दो चाँडो समाधान खोज्न जरुरी देखिन्छ,” गाविस सचिव हकहित संरक्षण केन्द्र रुपन्देहीका अध्यक्ष ओमबहादुर मल्लले भन्नुभयो – “यसरी कहिलेसम्म चल्छ ? गरी खान पनि गाह्रो भइसक्यो ।”

उता मधेसी मोर्चाले रुपन्देहीका गाविस कार्यालयमा तालाबन्दी गरेको जिम्मा लिएको छ । मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले आफूहरुको आन्दोलनबाट नभई सरकारको कारण आमनागरिकले दुःख पाइरहेको बताउनुभयो ।

उहाँले सरकारले मधेसी दलसँग विगतमा गरेका सम्झौतालाई बेवास्ता गरेर बेइमानी गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया