मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ

इनेप्लिज २०७२ कार्तिक १६ गते ८:४१ मा प्रकाशित

pakraauसप्तरी, १६ कात्तिक । राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालबाट गत असोज २७ गते चोरी भएको मोटरसाइकलसहित तीनजना युवालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

चोरी भएलगत्तै प्रहरीले खोजी गर्ने क्रममा बा ३ प ९०६५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेका तीनजना युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–१ का देवेन्द्रकुमार साह, वडा नम्बर–६ का सागर यादव र वडा नम्बर–७ का बविसकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

नम्बर प्लेट परिवर्तन गरी ज ४ प २३५५ नम्बर लेखेर मोटरसाइकलको लेग–गार्ड र भाइजरसमेत परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा प्रहरीले मोटरसाइकलसहित तीनैजना युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सप्तरीको बथनाहा गाविस–८ का २६ वर्षीय दशरथकुमार मण्डलले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आफ्नी बिरामी पत्नीलाई उपचार गराउन अस्पताल आएको बेला अस्पतालको आकस्मिक कक्षको छेउमा रहेको पार्किङ्मा मोटरसाइकल राखेपछि चोरी भएको थियो । पक्राउ परेकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । केही दिनयता सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न वडामा चोरीका घटना बढ्दै गइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया