दुई मन्त्रालयमा आआफ्ना दाबी

इनेप्लिज २०७२ कार्तिक १६ गते ८:२९ मा प्रकाशित

काठमाडौँ, १६ कात्तिक । नेकपा(एमाले) स्थायी कमिटीको आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थिति र समसामयिक विषय, सरकारका काम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न ४ बजे बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारको निर्णय लगभग टुङ्गिने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबारे एमाले र मधेसी जनअधिकार फोरम नेपाल( लोकतान्त्रिक) तथा सङ्घीय मामिला तथा स्थानीय निकाय मन्त्रालय बारेमा एमाले र राप्रपा नेपालले आआफ्नो दाबी गरेको स्रोतले जनाएको छ ।

जनजीवन सहज बनाउन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार विस्तार, आपूर्ति व्यवस्थालाई सहज बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री निर्वाचित भएको लामो समय भइसक्दा समेत सरकार विस्तार हुन नसकेको अवस्थामा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ ।

उच्चस्तरीय राजनीतिक समितिमा संयोजकसमेत रहनुभएका नेता दाहालले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै जनताको दैनिक जनजीवन सहज बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको उहाँका सहयोगी शिव खकुरेलले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने सत्तारूढ दलका शीर्ष नेताबीचको भेटवार्ता सामान्य भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया