यस्तो छ भूकम्प पछिको बारपाक

इनेप्लिज २०७२ कार्तिक १५ गते १०:४१ मा प्रकाशित

barpak-6गोरखा, १५ कात्तिक । गत वैशाख १२ गते गएको भूकम्पको केन्द्रबिन्दू बारपाक हेर्न आन्तरिक तथा विदेशी अवलोकनकर्ता बढेसँगै यहाँ होटलको सङ्ख्या पनि बढेको छ ।

भूकम्पअघि दुई ओटा होटल सञ्चालनमा रहेकोमा भूकम्पपछि सात ओटा थपिएका छन् । बाँस, काठ, छड र जस्तापाताको प्रयोग गरेर नयाँ होटल, रेष्टुराँ तथा लजहरु खुल्न थालेका हुन् ।

बारपाकको बसपार्क आसपासमा होटलहरु खुलेका छन् । बाँसको प्रयोगले होटल आकर्षक बनाइएका छन् । अधिकांश होटल एक तले छन् । “टहरो मै होटल चलाएँ,” बारपाक–४ का होटल व्यवसायी सुकराम गुरुङ्गले भन्नुभयो– “होटल खोल्दा रु तीन लाख ऋण लागेको छ ।” रु एक लाखदेखि रु चार लाखसम्म लगानी गरेर व्यापारीले होटल खोलेका हुन् ।

बारपाकको जग्गा बैंकले धितो नराख्ने भएपछि आफन्तसँग ऋण लिएर उनीहरुले होटल सञ्चालन गरेका हुन् । भूकम्पपछि उद्धार, राहत र पुनःनिर्माणको चरणसम्म धेरै मानिसको आवतजावत हुने भएकाले होटलमा लगानी गरिएको गुरुङ्गले बताउनुभयो ।

जिल्लाको लाप्राक, गुम्दा, लापुलगायत गाविसमा जाने विदेशी सङ्घसंस्थाका कर्मचारी एक रात बारपाकमा बास बसेर जान्छन् । जसले गर्दा होटल व्यवसायीलाई फाइदा भएको छ । होटल व्यवसायीले स्थानीय उत्पादनलाई जोड दिने बताएका छन् ।

स्थानीयस्तरमा पाइने आलु, सिमी, तोरीको साग व्यवसायीकरुपमा खेती गर्ने तयारीमा व्यवसायी छन् । बारपाक चिसो ठाउँ भएकाले खुर्सानी, प्याज, लसुनको उत्पादन धेरै हुँदैन । बारपाकमा खुलेका सबै होटलमा गरी एक रातमा ५० जनासम्म बसोबास गर्न मिल्छ ।

वैदेशीक रोजगारीमा गएर फर्केकाहरुले होटल व्यवसाय सञ्चालन गरेपछि स्थानीयले रोजगारी पाएका छन् ।
व्यवसायीको समेत जीवन निर्वाहमा सहज भएको छ । होटल नहुँदा यहाँ आउने पाहुना होमस्टेमा बस्दै आएका थिए । भूकम्पले होमस्टे भत्काएपछि टेण्ट, त्रिपालमुनि कष्टपूर्ण तवरले पाहुनाहरु बस्नुपरेको थियो ।

बारपाक नमूना पर्यटकीय गाउँ र भूकम्पको केन्द्रबिन्दू पनि भएकाले अवलोकनकर्ताको भीड लाग्ने होटल व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया