मोरङका स्वास्थ्य चौकीमा औषधि छैन, खोप सेवा पनि प्रभावित

इनेप्लिज २०७२ कार्तिक १५ गते ६:३१ मा प्रकाशित

Medicineपथरी (मोरङ), १५ कात्तिक । विभिन्न रोग लाग्नबाट बचाउनका लागि जन्मेदेखि एक वर्ष मुनिका बालबालिकालाई दिइने नियमित खोप सेवा औषधि अभावका कारण प्रभावित भएको छ ।

मधेसी मोर्चाको निरन्तर बन्द, हडताल र भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ अभावका कारण खोप केन्द्रहरुमा समयमा औषधि नियमित पुग्न नसक्दा खोप सेवा प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका सूचना अधिकृत उत्सव पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा २५० बढी खोप केन्द्रबाट २१ हजार ८६० जना बालबालिकालाई बिसिजी, डिपिटी, हेपाटाइटिस बी, पिसिभी, आइपिबी, दादुरा रुबेला, जापानिज इन्सेफ्लाइटिसलगायतका खोप महिला स्वास्थ्य स्वयम्सेविकाले दिने गर्छन् ।

सम्बन्धित निकायबाट बिसिजी औषधि उपलब्ध नभएकाले सेवा रोकिए पनि डिपिटी, पोलियो तथा दादुरा रुबेलालगायत मौज्दात औषधि एम्बुलेन्स र मोटरसाइकल प्रयोग गरेर सम्बन्धित खोप केन्द्रमा पु¥याई सेवा प्रदान गरेको अधिकृत पोखरेलले उल्लेख गर्नु भयो ।

त्यस्तै मोरङका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा औषधि सकिएको छ । मोरङका सबै स्वास्थ्य चौकीमा सरकारले प्रदान गर्ने ३५ प्रकारका निःशुल्क औषधि नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रमुख भानु योङ्देनले जिल्लाका सबै स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा औषधि सकिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो – “गर्भवती महिला र बालबालिकाबाहेक अरुका लागि औषधि छैन ।

झोराहाटका बुधनलाल ऋषिदेवले आफूलाई रुघाखोकी लागेर छाती दुखेपछि उपचारका लागि स्वास्थ्य केन्द्र जाँदा चेकजाँच मात्र गरेको तर स्वास्थ्य चौकीले औषधिको एउटा चक्कीसमेत नदिएको बताउनुभयो । उहाँले भन्नुभयो – “चिकित्सकले औषधि दिएनन्, अरु नै पसलमा किन्नु भन्नुभयो ।

बुधनलालमात्र होइन बनिगामा गाविसकी सतनीदेवी खबासलाई ज्वरो लागी बिरामी भएर उपचारका लागि स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नदिएको गुनासो गर्नुभयो ।

उता प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटकी अहेब कल्पना घिमिरेका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला, निमोनिया, दमलगायतका बिरामी आउने गरेको भए पनि निःशुल्क औषधि सकिएको छ ।

स्वास्थ्य केन्द्रमा उपचार गराएका बिमारीलाई आइरन, क्याल्सियम, एन्टिएलजी, सिटामोल, निम्स, फेक्सो फेनाडिन नभएकाले चेकजाँच गरेर औषधि बाहिर किन्न पठाउने गरिएको छ ।
पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरत साहले मेडिकल स्टोरमा औषधिको अभाव भएको र विभागबाट औषधि नआएको बताउनुभयो ।

प्रतिक्रिया