विवाहिता महिला करवा चौथ मनाउँदै

इनेप्लिज २०७२ कार्तिक १३ गते ७:४८ मा प्रकाशित

karva-chauthमहोत्तरी, १३ कात्तिक । हिन्दू धर्मावलम्बीका विवाहिता महिलाले आज करवा चौथ पर्व मनाउँदैछ । आफ्नो श्रीमान्को दीर्घायु, सुख, सौभाग्य एवम् सफल दाम्पत्यको कामना गरी घरघरमा विवाहित महिलाले निराहार व्रत बसी करवा चौथ पर्व मनाउँदैछन् ।

दिनभरि उपवास बसेका व्रतालु साँझको समयमा चन्द्रमा उदाएपछि श्रीमान्को मुख हेरेर यो व्रत तोडिँदैछ । व्रत तोडेपछि उनीहरु भोजन गर्दछन् । साँझको समयमा व्रतालु महिलाले सुहागनको हरेक सामग्री लगाएर व्रतमा बस्ने गर्दछन् । प्रत्येक वर्ष कात्तिक कृष्णपक्षको चतुर्थी तिथिमा मनाइने यो पर्व खासगरी तराईका हिन्दू धर्मावलम्बीले मनाइँदै आएका छन् ।

भगवान् शिवलगायतका अनेकाँै देवीदेवताको यस पर्वमा श्रद्धापूर्वक पूजा गर्ने चलन रहेको छ । यस पर्वको अनेकौँ पौराणिक कथा हिन्दू धर्मको ग्रन्थमा पाइन्छ ।

सत्ययुगमा यमराजले सत्यवान्को प्राण मारेको भन्दै सावित्रीले आफ्नो पतिको आत्मालाई रोकेको प्रसङ्ग रहेको छ । कथाका अनुसार सावित्रीले अन्न, जल त्यागी जिद्धी भई बसिरहेकाले यमराजको केही सीप नलागी र अन्त्यमा सत्यवान्को प्राण फिर्ता गरिदिएको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ ।

त्यस्तै त्रेतायुगमा महाभारतमा उल्लेख गरेअनुसार पाण्डव समस्यामा रहेको समयमा द्रौपदीले भगवान श्रीकृष्णको सल्लाहबमोजिम करवा चौथ व्रत गरेकाले पाण्डवको सङ्कट अन्त्य भएको महाभारतमा उल्लेख रहेको छ ।

प्रतिक्रिया