यस वर्ष चाँडै हिमपात

इनेप्लिज २०७२ कार्तिक १२ गते १४:४९ मा प्रकाशित

Himpatबाजुरा, १२ कात्तिक । सुुदूर तथा मध्यपश्चिमका हिमाली जिल्लामा अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात हुन सुरु भएको छ ।

दसँैलगत्तै अधिकांश हिमाली क्षेत्रमा बुधबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको छ । “मङ्सिर १५ पछि हिउँ देखिन्थ्यो यस वर्ष चाँडै हिउँ परेको छ, खप्तडमा समेत हिउँ आएको छ, अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात सुरु भयो ।” कालुखेती गाविस–६ का विजय सिंहले बताउनुभयो ।

सुदूरका बाजुरा, बझाङ, अछाम, डडेलधुरा र मध्यपश्चिमका जुम्ला, मुगु, हुम्ला कालीकोटलगायत जिल्लाको उच्च हिमाली भागमा गए रातिदेखि नै हिमपात हुन लागेको हो । रातभर आएको वर्षासँगै आएको हिउँका कारण यस क्षेत्रमा चिसो बढेको छ ।

बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने जनता चिसोका कारण समस्यामा परेका छन् । दसँै खाएर अछामको साँफेबगर हुँदै आफ्नो काममा फर्किने हुम्ला, मुगु र बाजुराका जनतालाई समस्या परेको छ ।

हिमपातका कारण बाजुरा जिल्लाकै उच्च क्षेत्रमा रहेका बिच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, मार्तडीलगायत दर्जन बढी गाविसको उच्च क्षेत्रमा हिमपात भएको छ । सबैभन्दा बढी समस्या उच्च भागमा भेँडापालन गर्ने भोटे जातिलाई भएको भोटे जनजाति समितिका अध्यक्ष नृप थापा भोटेले बताउनुभयो ।

बाजुराको पाण्डुसैन र मार्तडीका बीचमा पर्ने पोरखे लेखमा हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने बजार र एयरपोट बजारमा दैनिक उपभोग्य सामान ढुवानी गर्ने खच्चर र मान्छेकोे आवतजावतसमेतमा केही समस्या भएको स्थानीयवासी दलसिंह रोकायाले बताउनुभयो ।

यता लामो समयदेखि पानी नपरेर कृिष बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषक खुसी भएका छन् । गहुँ र जौ बाली लगाउने समयमा पानीसँगै परेका हिउँले समयमा उम्रिने भएकाले अन्न बाली राम्रो हुने उनीहरुको आशा छ ।

लगातारको वर्षात् र हिमपातका कारण चिसो बढेपछिसदरमुकाम मार्तडीका कार्यालयमा कर्मचारी आगो बाली बसेका देखिन्छन् ।

प्रतिक्रिया