मुस्ताङ, १२ कात्तिक । बुधबार रातिदेखि बढेको चिसो र वर्षाका कारण मुस्ताङमा भारी हिमपात भएको छ ।
जिल्लाको उपल्लो क्षेत्र सहित मुक्तिनाथ, कागबेनी र जोमसोम गाविसमा आज बिहानैदेखि हिमपात भइरहेको छ । सबैभन्दा बढी मुक्तिनाथ क्षेत्रमा हिउँ परेको स्थानीयले जानकारी दिएका छन् ।
हिमपातसँगै अत्यधिक चिसो बढेका कारण सर्वसाधारणलाई समस्या भएको मुक्तिनाथका नरसिंह गुरुङले बताउनुभयो । उहाँका अनुसार स्थानीयहरु घरभित्रै आगो बालेर बसेका छन् ।
सदरमुकाम जोमसोमको आसपासका डाँडामा हिमपात भएको छ । सिमसिम पानीसँगै परेको हिउँले यहाँका डाँडापाखासमेत सेताम्मे देखिएका छन् ।
उपल्लो मुस्ताङको छोसेर र लोमान्थाङ क्षेत्रमा पनि हिमपात भएको स्थानीय गोकर्ण विष्टले जानकारी दिनुभयो । “हिमपातसँगै बढेको हावाले चिसो एकदमै बढेको छ”, उहाँले भन्नुभयो । असोज महिनाको अन्तिम सातादेखि नै उपल्लो मुस्ताङमा चिसो बढेको थियो ।
त्यहाँका अधिकांश सर्वसाधारण भने चिसो छल्न बेँसी झरिसकेका छन् । निरन्तर पानीसँगै हिउँ परेका कारण जोमसोम विमानस्थलमा बिहानैदेखि हवाई उडान ठप्प भएको विमानस्थल स्रोतले जनाएको छ ।
चिसोले सदरमुकाम जोमसोममा स्थानीयबासी सडकमै आगो तापेर बसेको स्थानीय कुलबहादुर थकालीले बताउनुभयो । “मौसम यस्तै रहने हो भने सदरमुकाममै हिउँ पर्छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया