दसैँ सकिएसँगै अस्पतालमा चाप बढ्न थाल्यो

इनेप्लिज २०७२ कार्तिक १२ गते ७:४४ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, १२ कात्तिक । नेपालीहरुको महान् चाड बडादसैँ सकिएसँगै जिल्ला अस्पतालमा झाडापखालाका बिरामीको चाप बढ्न थालेको छ ।

चाडपर्वका बेला खानपानमा ध्यान नदिँदा झाडापखालाका बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका चिकित्सक ओमप्रकाश यादवले भन्नुभयो – “चाडपर्व भन्दै स्वास्थ्यको ख्यालै नगरी धेरै पटक खाना तथा अन्य चिल्लो पदार्थबाट बनेका परिकार र मासुको सेवन गर्नाले यस्ता बिरामीको सङ्ख्या बढेको हो ।”

अहिले दैनिक ६० देखि ७० जनाको सङ्ख्यामा जाँचका लागि अस्पताल आउने गरिएको छ । बिरामीको चाप दिनानुदिन बढ्न थालेपछि अस्पतालमा श्ययाको अभाव हुँदा भुइँमा राखेरसमेत उपचार गर्दै आएको चिकित्सक यादवले जानकारी दिनुभयो ।

तर अस्पताल पुगेका सेवाग्राहीले भने अस्पतालका केही विभाग ल्याब, औषधि वितरण कक्षलगायतमा नियमित कर्मचारी नहुँदा आफूहरुलाई समस्या परेको बताएका छन् ।

कर्मचारीहरु दसैँ बिदामा रहेका र बन्द हडतालजस्ता विभिन्न समस्याले समयमै आउन नसक्दा ती विभाग प्रभावित हुन पुगेका अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया