इन्धनको अभाव टार्दै ई–रिक्सा

इनेप्लिज २०७२ कार्तिक १२ गते २:०३ मा प्रकाशित

11743चितवन, १२ कात्तिक । भारतीय अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भइरहेका बेला ई–रिक्सा प्रभावकारी सवारी साधन बनेको छ । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि चितवनमा ई–रिक्साको प्रयोग अत्यधिक बढेको छ ।

भरतपुर नगर क्षेत्रमा संञ्चालनमा रहेका पाइडल रिक्सा व्यवसायीको तीनवटा रिक्सा कटाएर एउटा ई–रिक्सा भरतपुर उपमहानगरपालिकाले दर्ता गरेसँगै गत साउनबाट ई–रिक्सा सञ्चालनमा आएको हो ।

चितवन रिक्सा व्यवसायी समितिका अध्यक्ष अमृतकुमार श्रेष्ठका अनुसार हाल भरतपुर उपमहानगरपालिकाभित्र ३०४ वटा ई–रिक्सा सञ्चालनमा आएका छन् । त्यस्तै रत्ननगर नगर क्षेत्रमा २२ वटा ई–रिक्सा सञ्चालनमा रहेका छन् ।

यसअघि नगर क्षेत्रमा एक हजार ३३४ वटा पाइडल रिक्सा सञ्चालनमा रहेकामा ९१२ वटा पाइडल रिक्सा हटाएर ३०४ वटा ई–रिक्सा सञ्चालनको अनुमति नगरपालिकासँग लिएको अध्यक्ष क्षेष्ठले बताउनुभयो ।

रु दुई लाख ८० हजारदेखि रु तीन लाख २० हजारसम्ममा खरिद गरिएका धेरैजसो रिक्सा दैनिक रु ९०० मा भाडामा दिइएको रिक्सा सञ्चालकसमेत रहेका समितिका उपाध्यक्ष प्रेम सुवेदीले बताउनुभयो ।

इन्धनका कारण अन्य सवारीको अभाव भएपछि चारजना बस्ने सिटमा आठजनासम्म बस्ने गरेको र दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म चालकले आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । उपाध्यक्ष सुवेदीले भन्नुभयो – “साहु आफँैले रिक्सा चलाउनेले तीन महिनामा नै आफ्नो लगानी उठाउने भएका छन् । चालकहरु पनि निकै खुसी देखिएका छन् ।”

भरतपुरको कृष्णपुर घर भएका देव खड्काले आफ्नो रिक्सा आफँैले चलाउँदा दैनिक रु दुई हजारमा घटेको छैन, राम्रो आम्दानी लिन सकेको छुु भन्नुभयो ।

त्यस्तै आरामदायी र सुलभ रुपमा ई–रिक्सा चढ्न पाएपछि यात्रु पनि खुसी भएका छन् । भरतपुरको चौबीसकोठीबाट भरतपुर अस्पताल पुगेकी सुस्मिता सुयालले रिक्साबाट झर्दै प्रदूषणरहित तथा ध्वनिरहित ई–रिक्सा चढ्न निकै राम्रो लागेको बताउनुभयो ।

तर ई–रिक्सामा भाडा दर यकिन नहुँदा कुनैबेला अप्ठ्यारो पर्ने गरेको यात्रुहरुको भनाइ छ ।

चितवनमा ई–रिक्साको बिक्री वितरण गरिरहेको भिजन टे«ड लिङ्कका सञ्चालक नगेन्द्र पौडेलले पेट्रोलियम पदार्थको अभाव भइरहने नेपालमा ई–रिक्सा उपयुक्त हुने बताउनुभयो ।

ई–रिक्सालाई एकपटक पूरा चार्ज गरिसकेपछि ८० किलोमिटरदेखि १२० किलोमिटरसम्म चलाउन मिल्ने बताइएको छ । पेट्रोल डिजेलको प्रयोग नहुने हुँदा यसले वातावरणमा कुनै असर नगर्ने भएकाले यसलाई वातावरणमैत्री रिक्सा पनि भने गरिएको छ ।

प्रतिक्रिया