व्यावसायिक कृषिको विकासका लागि कृषक कार्यकर्ता तालिम

इनेप्लिज २०७२ कार्तिक १२ गते १:५४ मा प्रकाशित

tarkaariकाठमाडौँ, १२ कात्तिक । युनेस्कोका लागि नेपाल सचिवालयको संयोजन एवम् युनेस्को पेरिसको सहयोगमा शिखरापुर सामुदायिक अध्ययन केन्द्रले काठमाडौँको फर्पिङमा ग्रामीण कृषक कार्यकर्ता तालिम सुरु गरेको छ ।

शिखरापुर खुला विद्यालयमा अध्ययनरत युवाका साथै विभिन्न युवा समूह, महिला समूहमा आबद्ध युवाको प्रतिनिधित्व गर्ने गरी २२ जनालाई दुई महिने तालिम दिन लागिएको केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी सदस्य निरोज श्रेष्ठका अनुसार तालिमका सहभागीलाई प्रयोगात्मक रुपमा गरेरै सिक्ने गरी तालिमको व्यवस्था गरिएको छ ।

फर्पिङस्थित शिखरापुर दिगो कृषक पाठशालामा प्रत्येक हप्ता चार दिन तालिम प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।

समुदायको सक्रियतामा विगत चार वर्षयता सञ्चालनमा ल्याइएको शिखरापुर दिगो कृषक पाठशालाअन्तर्गत १६ रोपनी जग्गा भाडामा लिएर कृषकका लागि विभिन्न व्यावसायिक खेतीबारे निरन्तर तालिम प्रदान गरिँदै आएको छ ।

तालिमका लागि अनौपचारिक सेवा केन्द्र सानोठिमी, युनेस्को काठमाडौँलगायतका सङ्घसंस्थाबाट निरन्तर सहयोग भइरहेको सदस्य श्रेष्ठले जानकारी गराउनुभयो ।

तालिमपछि सहभागीहरुलाई देशका विभिन्न स्थानमा सञ्चालित कृषि फार्मको पनि अवलोकन गराउने कार्यक्रम रहेको छ ।

पर्याप्त सम्भावना भएर पनि कृषि क्षेत्रमा युवाको त्यति आकर्षण नदेखिएको अवस्थामा यस्ता तालिम निकै उपयोगी हुने केन्द्रका सल्लाहकार शशि शर्मा अर्यालले बताउनुभयो ।

प्रतिक्रिया