राप्तीपारि ग्रामीण विद्युतीकरणको कार्य ठप्प

इनेप्लिज २०७२ कार्तिक ११ गते ३:१६ मा प्रकाशित

बाँके (खजुरा), ११ कात्तिक । निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा बाँके जिल्लाको राप्तीपारि ग्रामीण विद्युतीकरणको लागत बर्सेनि बढ्दै गएको छ ।

उक्त ठाउँमा ठेकेदारबीचको लडाइँ र राजनीतिक लाभको हानथापका कारण पटकपटक काम अवरुद्ध हुँदा लागत बढ्दै गएको हो । ग्रामीण विद्युतीकरण परियोजना रु ४६ करोड लागत अनुमानमा करिब पाँच वर्षअघि सुरु गरिएको थियो ।

राप्तीपारि क्षेत्रका नौ गाविसलाई पाँच वर्षभित्र विद्युत् सेवा पु¥याउने लक्ष्यका साथ गाउँलेको साझेदारी समेतमा सुरु गरिएको परियोजनाको एक चौथाइ काम पनि भएको छैन । अब परियोजनामा करिब रु ५१ करोड लागत अनुमान गरिएको छ । परियोजनाको पहिलो चरणमा कोहलपुरदेखि धामपुरसम्मको ३३ केभिए प्रसारणलाई विस्तार गर्ने ठेक्कासमेत भई काम अगाडि बढाइए पनि ठेकेदारको लापरबाहीका कारण त्यसले पूर्णता पाउन नसक्दा समस्या देखिएको हो ।

त्यसका लागि राजेन्द्रकुमार मिश्रलाई दिइएको निर्माणको ठेक्का निर्धारित समयमा पूरा हुन सकेन । सोनारी–बघौडा सामुदायिक विद्युतीकरण व्यवस्थापन समितिका अध्यक्ष अवधराम थारूले ठूलो रकमको परियोजना देखिँदा सबैको चलखेल बढेको बताउनुभयो ।
राप्तीपारिका नौ गाविसका लागि ३३ केभिए प्रसारण लाइन, सबस्टेसन निर्माण, बैजापुर, नरैनापुर विद्युतीकरण, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँया, विनौना, फत्तेपुर, गङ्गापुर विद्युत् प्रसारणलाई छुट्टा–छुट्टै टेन्डर व्यवस्था गरिएको छ । तर पहिलो चरणकै काम सम्पन्न नहँुदा अगाडिको काम अघि बढ्न नसकेको फत्तेपुरका स्थानीय अगुवा अमर खड्काले बताउनुभयो । विद्युत्को अभावमा सो क्षेत्रका बासिन्दाले सोलारको प्रयोग गरी सामान्य बत्ती बालिरहेको मटेहियाका स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया