नाकाबन्दीका कारण दूध नउठ्दा कृषक मर्कामा

इनेप्लिज २०७२ कार्तिक ११ गते २:०६ मा प्रकाशित

milk-collection_gचितवन, १० कात्तिक । भारतीय अघोषित नाकाबन्दीका कारण दूध डेरीले दूध उठाउन नसकेपछि यहाँका कृषक मर्कामा परेका छन् । दैनिक जिल्लाभरमा दुई लाख २५ हजार लिटर दूध उत्पादन हुने भए पनि डेरीले पालो मिलाएर दैनिक एक लाख लिटर मात्रै उठाउँदै आएका छन् । जसका कारण एक लाख २५ हजार लिटर हाराहारी दूध नोक्सान हुँदै आएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष हरिहर सुवेदीका अनुसार संविधान जारी भएसँगै झन्डै ३७ दिनयता कृषकको दूध पूरै उठ्न सकेको छैन । यो सबै हिसाबबाट करिब रु २२ करोड नोक्सान भइसकेको उहाँले बताउनुभयो ।

चितवनमा १३८ वटा डेरी र २०० वटा निजी फर्मबाट दूध सङ्कलन हुने गर्दछ । जिल्लामा ७१ हजार गाई र ६८ हजार भैँसी रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा रामकुमार कार्कीका अनुसार जसमध्ये ६० प्रतिशत गाई दुहुना छन् भने भैँसी ३५ प्रतिशतको हाराहारीमा दुहुना रहेका छन् । पछिल्लो समय नस्ल सुधारका कारण दूध उत्पादन प्रभावकारी हुँदै गए पनि बिक्री गर्न नपाएपछि व्यवसाय प्रभावित बनेको प्रमुख कार्कीले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष गाईभैँसीमा जिल्ला पशु सेवा कार्यालयले मात्र रु ५४ लाख अनुदानसमेत दिएको थियो । दाना चोक्करको मूल्य बढ्नु र दूध बिक्री हुन नसक्नुले यो व्यवसाय नै धरासायी हुनेतर्फ गएको दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घ चितवनका उपाध्यक्ष बालकृष्ण उप्रेती बताउनुहुन्छ । चितवनबाट दुग्ध विकास संस्थान (डिडिसी) सुजल फुड र सीताराम डेरी उद्योगले दूध खरिद गर्ने गरेका छन् । जिल्लाको ठिमुरामा खुलेको चितवन मिल्क उद्योग बन्द भएका कारणले पनि दूध उठ्न नसकेको हो । सो उद्योग भूकम्प गएयता सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया