सुनसरीमा एम्बुलेन्सको दुरुपयोग

इनेप्लिज २०७२ कार्तिक ११ गते १:४७ मा प्रकाशित

ambulanceइनरुवा, ११ कात्तिक । सुनसरीमा एम्बुलेन्सको दुरुपयोग बढेको पाइएको छ । बिरामीलाई ओसार्न प्रयोग गरिने एम्बुलेन्स सर्वसाधारण अर्थात् नक्कली बिरामीलाई ओसार्न प्रयोग भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

बिरामी र अशक्तलाई ओसार्न जान नसक्ने एम्बुलेन्स नक्कली बिरामी र यात्रुलाई दोब्बर भाडा लिई ओसार्ने गरेको अस्पताल आसपास क्षेत्रका स्थानीयवासीले बताएका छन् । इन्धनको अभाव भन्दै बिरामी लिन नगएको इनरुवा अस्पतालका चारवटा एम्बुलेन्स नक्कली बिरामी अर्थात् यात्रुलाई ओसार्ने गरेको स्थानीयवासीले बताएका छन् ।

अस्पताल परिसरमा इनरुवा अस्पतालका एम्बुलेन्स र रेडक्रस सोसाइटीका एम्बुलेन्स भएर पनि बिरामी ओसार्न नगएको भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन् । भोक्राहाबाट एक बिरामीलाई ल्याउन इनरुवाका चारवटा एम्बुलेन्सलाई फोन गर्दा कोही पनि नआएको र सोही एम्बुलेन्स मान्छे लिई सडकमा गुडेको स्थानीयवासीले दाबी गरेका छन् ।

अस्पताल स्रोतका अनुसार एम्बुलेन्स चालकले इन्धन अभाव देखाउँदै तोकिएको भाडादरभन्दा रु २०० देखि ८०० सम्म असुल्ने गरेको स्थानीयवासीको भनाइ छ । सुनसरी प्रशासनले भने एम्बुलेन्सलाई इन्धन अभाव नरहेको बताएका छन् । यता एम्बुलेन्स चालकले भने यस विषयमा प्रतिक्रिया दिन मानेका छैनन् ।

प्रतिक्रिया