विद्यार्थीको चाप बढेपछि झुपडीमा पढाइ

इनेप्लिज २०७२ कार्तिक १० गते ४:११ मा प्रकाशित

कञ्चनपुर, १० कात्तिक । कञ्चनपुरको बेलडाँडी नगरपालिका–१ झर्नासागरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेपछि झुपडीमा पढाइ सुरु गरिएको छ ।

जस्तापाताले छाएका दुई भवनमा चारवटा मात्रै कोठा भएकाले विद्यार्थीको चाप थेग्नका लागि झुपडी बनाइ पढाइ सुरु गरिएको हो ।

विद्यार्थीको अनुपातमा भवन अभाव भएकाले झुपडी बनाएर पढाइ सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक विष्णुसिंह भण्डारीले बताउनुभयो ।

“कक्षा कोठा अभाव हुँदा एउटै कक्षा कोठामा सयभन्दा बढी विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता छ” – उहाँले भन्नुभयो ।

गत शैक्षिकसत्रमा विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी भर्ना भएकामा चालु शैक्षिकसत्रमा ७५० विद्यार्थी भर्ना भएर पठनपाठन गर्दै आएको उहाँले बताउनुभयो । “भवन अभावपछि जिल्ला शिक्षा कार्यालयसँग पटकपटक माग गर्दै आए पनि सुनुवाइ हुन नसक्दा बाध्यताबस झुपडी बनाएर कक्षा सञ्चालन गरेका हौँ” – विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घबहादुर शाहले भन्नुभयो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि सरकारी निकायले विद्यालयको अवस्थासमेत अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ ।

जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले आवश्यकताका आधारका नयाँ भवनका लागि निवेदन दिन सबै स्रोतकेन्द्रका विद्यालयलाई आह्वान गरेको जानकारी दिनुभयो । भवन अभाव भएका विद्यालयलाई पहिलो प्राथमिकतामा राखी भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया