युवाद्वारा अशक्त दम्पतीको घर निर्माण सुरु

इनेप्लिज २०७२ कार्तिक १० गते ४:१० मा प्रकाशित

पथरी (मोरङ), १० कात्तिक । मोरङको उर्लाबारी–४ नमुना चोकमा रहेका एक अशक्त दम्पती कमल र कमला श्रेष्ठको घर स्थानीय युवाको श्रमदानमा निर्माण सुरु गरिएको छ ।

सहयोग सङ्कलन समितिका सहसंयोजक सरोज बस्नेतका अनुसार करिब रु दुई लाखमा दुई कोठाको पक्की घर निर्माण गरिने छ ।

शारीरिक रुपमा अशक्त रहेको र घर अति नै जीर्ण रहेको कारण सहयोगस्वरुप निर्माण थालिएको हो । श्रेष्ठ दम्पतीको अवस्था ज्यादै कष्टकर भएको र घर निर्माण गर्न अति आवश्यक रहेको अवस्थामा घर निर्माण अभियान थालिनु महान् कार्य भएको स्थानीय युवा मधु लिम्बूको भनाइ छ ।

अभियानका संयोजक पूर्णसिङ लिम्बू, सहसंयोजक सरोज बस्नेत, महासचिव किशोर श्रेष्ठ, कोषाध्यक्ष सञ्जिव बुढाथोकी, सदस्य विजय धिमाल, विवेक हिङ्माङ, तेजनारायण राजवंशी, तेजन खड्कालगायतको टोली घर निर्माणमा सक्रियतापूर्वक लागेको छ ।

प्यारालाइसिसका कारण थलिएका कमल भन्छन् – “म नथलिएको भए घर आफैँ बनाउँथेँ होला, घर बनाउन सहयोग गरेकोमा खुसी छु ।” कमलकी श्रीमती कमला भने प्रष्ट बोल्न, सुन्न र देख्न सक्ने अवस्थाको नभए पनि जसोतसो गरेर मागेर ल्याएर खुवाउने गरिएको छ ।

देश तथा विदेशमा रहेका नेपालीले भौतिक सामान तथा रकम सहयोग गर्न थालेपछि ती दम्पतीको घर निर्माण सुरु गरिएको हो ।

प्रतिक्रिया