फोहरबाट ग्यास

इनेप्लिज २०७२ कार्तिक १० गते ४:०७ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १० कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन र ग्यास अभाव हुँदा देशभरको जनजीवन प्रभावित बनिरहेका बेला म्याग्दीस्थित कारागारमा फोहरबाट उत्पादित ग्यासले खाना पकाउने गरिएको छ ।

शौचालय एवम् भान्छाको फोहरबाट बायोग्यास उत्पादन गरेपछि दाउराको खपत कम हुनुका साथै सरसफाइ, फोहर व्यवस्थापनमा सघाउ पुगेको मात्र होइन बजारमा देखिएको चरम ग्यास अभावको प्रभाव कारागारमा परेको छैन ।

बढी भएर फालिने दाल, तरकारी र खाना तथा शौचालयको फोहर १५ घनमिटर क्षमताको पक्की टङ्कीमा जम्मा गरी उत्पादन हुने बायोग्यास दुईवटा चुलोमा प्रयोग गरिएको कारागारका जेलर नवराज पौडेलले बताउनुभयो ।

जेलर पौडेलका अनुसार ९२ जना कैदीबन्दी रहेको कारागारमा सेफ्टी टङ्की र भान्साको फोहर व्यवस्थापन गरी सरसफाइ कायम गरी इन्धन आपूर्तिमा सहज भएको छ । बायोग्यास जडान भएपछि इन्धनका लागि ७५ प्रतिशत दाउराको खपत घटेको छ । यसअघि मासिक दुई ट्र्याक्टर दाउरा खपत हुने गरिएको थियो ।

विसं २०७१ असारमा कारागारमा रु दुई लाख ७५ हजारको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । घुवाँ कम हुने भएकाले खाना पकाउन पनि सहज भएको कैदीबन्दीले बताएका छन् । बायोग्यास उत्पादन गरेपछिको र स्नानगृहको फोहरलाई कारागार परिसरमा करेसाबारी बनाएर तरकारीखेतीमा प्रयोग गरिएको छ ।

म्याग्दी कारागारसँगै बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविले पनि फोहरबाट ग्यास उत्पादन गरी होस्टेलको भान्छाका लागि प्रयोग गर्दै आएको छ ।

घरायसी फोहर, गाईबस्तुको गोबर र शौचालयको फोहरलाई प्रयोग गरेर बायोग्यास उत्पादन गर्न सकिने प्रसस्त सम्भावना भए पनि यसतर्फ सर्वसाधारणको आकर्षण भने न्यून रहेको जिविसअन्तर्गतको जलवायु परिवर्तन तथा वातावरण, ऊर्जा शाखाले जनाएको छ ।

प्रतिक्रिया