मिथिला क्षेत्रमा ‘चुमाउन’ विधि सम्पन्न

इनेप्लिज २०७२ कार्तिक १० गते २:२४ मा प्रकाशित

बर्दिवास, १० कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन सोमबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ ।

मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि गरिने परम्पराअनुसार गएराति यो विधि सम्पन्न गरिएको हो ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मणहरुमा प्रत्येक दुई कोजाग्रत पूर्णिमाका बीच विवाह भएका जोडीबीच यो विधि मनाउने परम्परा रहेको छ ।

यस विधिका लागि बधु पक्ष (दुलहीका माइती)ले बस्त्रआभूषण, मिष्टान्न खाद्य परिकार लिएर दुलाहाका घर आउने चलन छ । विधिमा दुलाहा–दुलहीलाई नयाँ बस्त्र आभूषण पहि¥याउने, दुलाहाका पक्षधरलाई मिष्टान्न भोजन गराउने परम्परा रहेअनुसार यो विधि सम्पन्न गरिएको जलेश्वर–७ का मनोहरनाथ पाठकले बताउनुभयो ।

चुमाउन विधिमा दुलहीका माइतीले बस्त्र आभूषण, थरिथरिका मिष्टान्न परिकार, मौसमअनुसारका फलपूmल र दहीका बेग्लाबेग्लै भार (सोली) भेटका लागि ल्याउनुपर्ने चलन छ । दुलाहा–दुलहीमात्र नभई दुलाहाका बाबु–आमा, दिदी–बहिनी र अन्य आफन्तलाई समेत बस्त्र आभूषण पहि¥याएर भोजन गराउनुपर्ने भएकाले यो विधि अब महँगो र झन्झटिलो बन्दै गएको टिप्पणी नयाँ पुस्ताका युवाले गर्न थालेका छन् ।

विधिमा खर्च जति दुलहीका माइती पक्षकाले गर्नुपर्ने र आमन्त्रित पाहुनाको खटनपटन दुलाहा पक्षकाले गर्ने हुँदा यो विधि महँगो हँुदै गएको महोत्तरीको भङ्गाहा–६ का अखिलेश झाले बताउनुभयो ।

विगतमा सम्बन्ध गाँसेका दुवै पक्षका आफन्तबीच चिनजान बढाउने, आत्मीयता बढाउने र दसैँ पर्व सम्पन्न गरिएको खुसी बाँड्ने उद्देश्यले सुरु गरिएको यो विधिमा सामान्य रुपमा बरबधुलाई धोती फेराउने, पान मखान (पानीमा फल्ने तराईको फलविशेष) प्रसादस्वरुप खुवाउने परम्परा रहेको थियो ।

चुमाउन विधिमा बढेको खर्च र रवाफिलो तडकभडक नियन्त्रण गरिनुपर्ने युवा पुस्ताको विचारमा मिथिला क्षेत्रका बुद्घिजीवी पनि सहमत देखिएका छन् ।

प्रतिक्रिया