शनिबार, साउन ९ २०७८
काठमाडौं २२:१७
वासिङटन डिसी 12:32

पर्यटकद्वारा चार विद्यालयलाई शैक्षिक सामग्री सहयोग

इनेप्लिज २०७२ कार्तिक १० गते १:४२ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १० कात्तिक । म्याग्दीको ताकममा रहेका चारवटा सामुदायिक विद्यालयलाई जापानका पर्यटकले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

जापानको अल्पाइन ओकामा विश्वविद्यालयका प्राध्यापकहरुले करिब रु पाँच लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

ताकम माविलाई दुई थान ल्यापटप र दुई थान डेक्सटप कम्प्युटर उपलब्ध गराएका हुन् । यसैगरी धारापानीको किसानी माविलाई दुईवटा माइक्रोस्कोप, बाल विकास केन्द्रलाई खेलकुद र शैक्षिक सामग्री प्राप्त भएको शिक्षक ओमप्रकाश केसीले बताउनुभयो ।

ताकमको शिवाङमा रहेको हेम उच्च माविलाई पनि जापानका प्राध्यापकको टोलीले एक थान फोटोकपी मेसिन र शैक्षिक सामग्री सहयोग गरेका छन् । मच्छिममा रहेको भूमे प्राविलाई माइक्रोस्कोप र बालकक्षाका शैक्षिक सामग्री सहयोग गरेका छन् । हिरो कावाको नेतृत्वमा गत हप्ता ताकम पुगेका नौजना प्राध्यापकको टोलीले शैक्षिक सामग्री वितरण गरेका थिए ।

उनीहरुले धौलागिरि हिमालको आरोहण गरेको ४०औँ वर्षगाँठ मनाउने क्रममा पदमार्गमा पर्ने ताकमका विद्यालयलाई सहयोग गरेको हेम उच्च माविका प्रअ शेरबहादुर केसीले बताउनुभयो । यसअघि पनि उनीहरुले किसानी मावि धारापानीलाई कम्प्युटर, प्रिन्टर र सोलार सेट सहयोग गरेका थिए ।

प्रतिक्रिया