माटोमा अम्लीयपन भएका कारण वार्षिक उत्पादन घट्दै

इनेप्लिज २०७२ कार्तिक १० गते १:४१ मा प्रकाशित

Dang_district_locationदाङ, १० कात्तिक । खेतीयोग्य जमिनमा अम्लीयपन देखापर्न थालेपछि वार्षिक उत्पादन घट्दै गइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार जिल्लाको ९४ प्रतिशत माटोमा अम्लीयपन रहेको छ ।

माटोमा अत्यधिक अम्लीयपनका कारण जिल्लाको वार्षिक ३० देखि ४० प्रतिशत उत्पादन घट्दै गइरहेको कार्यालयले जनाएको छ । माटोमा देखिएको अम्लीयपन हटाउन कार्यालयले आफ्नो तर्फबाट कृषि चुन प्रयोग गर्न किसानलाई सुझाव दिँदै आएको छ ।

कार्यालयले किसानलाई प्रत्येक वर्ष एकै प्रकारको बाली नलगाउन, हरियो मल र पोटासको प्रयोग पनि बढाउन सुझावसमेत दिँदै आएको छ ।

कार्यालयले गतवर्ष जिल्लामा सञ्चालन गरेको माटो परीक्षण शिविरका क्रममा अम्लीयपनको मात्रा देखिएको जनाएको छ । माटो परीक्षणका क्रममा पुरन्धारा, बाघमारे गाविस र देउखुरी क्षेत्रको माटोमा अम्लीयपनको मात्रा सबैभन्दा बढी देखिएको र डुरुवा, नारायणपुर र तुलसीपुर नगरपालिकामा पनि अम्लीयपन उच्च रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अत्यधिक मात्रामा रसायनिक मलको प्रयोग गर्दा माटोमा अम्लीयपन देखापर्ने कृषि कार्यालयले बताएको छ । रसायनिक मलको प्रयोगसँंगै पोटासको कम प्रयोग र हरेक वर्ष एउटै बालीको खेतीका कारण पनि माटोमा अम्लीयपन देखिने गरेको प्राविधिक माधव खत्रीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा माटो परीक्षण शिविरमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा परीक्षण गर्ने गरिन्छ ।

कार्यालयले आफ्नो खेतीयोग्य जमिनको माटो नियमित रुपमा परीक्षण गराउन किसानलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया