हात्ती क्याम्प अमटारीमा सञ्चालन

इनेप्लिज २०७२ कार्तिक ९ गते ४:०२ मा प्रकाशित

indexपरासी, ९ कात्तिक । नवलपरासीमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ‘हात्ती क्याम्प’ सञ्चालनमा आएको छ ।

हात्तीमा सफारीमात्र नभई हात्तीको विशेषता र हात्तीको दैनिकीबारे पर्यटकलाई जानकारी दिने उद्देश्यले हात्ती क्याम्प सञ्चालनमा ल्याइएको हो ।

यहाँ रहेको टाइगर टप्स रिसोर्टले पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यले हात्ती क्याम्प सञ्चालनमा ल्याएको हो ।

नेपालमै पहिलोपटक सञ्चालनमा ल्याएको यस क्याम्प हात्तीबारे जान्न चाहने आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको छ ।

हात्ती सफारीभन्दा पनि हात्तीको दैनिकी र हात्तीसँग रमाउन चाहनेका लागि क्याम्प कोसेढुङ्गासावित हुने टप्सका निर्देशक डिबी चौधरीले बताउनुभयो ।

विगत लामो समयदेखि हात्ती जङ्गल सफारीमार्फत पर्यटकलाई आनन्द प्रदान गर्दै आएको टाइगरटप्समा अबदेखि पर्यटकले हात्ती क्याम्पमा हात्तीसँगै खाने, संगै खेल्न र सुत्न पाइने भएको छ ।

विगत ३५ वर्षदेखि थारु गाउँ अमलटारीमा सञ्चालनमा रहेको यस क्याम्पका लागि हात्तीसँगै नजिक रहेर बस्न बासका लागि नमुना टहरा निर्माण गरिएको छ ।

अमलटारी एउटा नमुना क्षेत्र रहेको भन्दै क्याम्पले यस क्षेत्रमा अझै धेरै पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा छ । २० जनालाई अहिले बस्न मिल्ने व्यवस्था मिलाइएको र आवश्यकताअनुसार यसलाई विस्तार गर्दै लैजाने रिसोर्टको भनाइ छ । हात्तीमैत्री वातावरण निर्माणका लागि अहिले भौतिक निर्माणको कार्य तीव्र पारिएको छ ।

प्रतिक्रिया