विभिन्न घटनामा दुईको मृत्यु

इनेप्लिज २०७२ कार्तिक ९ गते ३:५३ मा प्रकाशित

इटहरी, ९ कात्तिक । सुनसरी जिल्लाको विभिन्न स्थानमा भएका घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्लामा भएका घटनामा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनसरी जिल्लाको दक्षिणी अमाहीबेलाहा– ८ निवासी ४६ वर्षीय सत्यनारायण पण्डित घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेका छन् ।

खेतमा पानी लगाउन गएका पण्डित पानी लगाउने क्रममा विद्युत् प्रवाहबाट मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको शवलाई परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी जिल्लाको मधेसास्थित राजमार्गमा मे७प ३१३६ नंको स्कुटर र को१७प ८५७० नंको मोटरसाइकल एकापसमा जुध्दा सप्तरी हरिहरपुर– ९ निवासी स्कुटरको पछाडि बसेर यात्रारत ५२ वर्षीया लीलादेवी जोशी थरुनीको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

सो घटनामा स्कुटर चालक सप्तरी हरिहरपुरकी २९ वर्षीया मालाकुमारी जोशी थरुनी सख्त घाइते भएकाले उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उक्त घटनामा अर्को मोटरसाइकलका चालक सुनसरी भासीका २० वर्षीय सविन रायमाझी र मोटरसाइकलको पछाडि बसेका भासीकै २० वर्षीय दीपक श्रेष्ठलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

यता सुनसरी जिल्लाको बबियाका रामप्रसाद खत्वेका तीन वर्षीया छोरी रञ्जना खत्वे र सोही गाविसका रामचन्द्रै खत्वेको छोरी १६ वर्षीया सुनिता खत्वेलाई भारततिरबाट जर्किनमा मट्टीतेल लिएर आइरहेको अवस्थामा सीमा क्षेत्रमा बन्द गर्न बसेका आन्दोलनकारीले दुवैजनालाई मट्टीतेलसहित जर्किन खोसेर आगो लगाइदिँदा दुवै बालिका तथा किशोरी गम्भीर घाइते भएको पनि प्रहरीले बताएको छ । उनीहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइ रहेको छ ।

आगो लगाउनेको पहिचान गर्ने र नियन्त्रणमा लिनका लागि प्रहरीले प्रयास गरिरहेको बताइएको छ ।

प्रतिक्रिया