कुष्ठरोग निवारण भएको जिल्ला बन्यो कन्चनपुर

इनेप्लिज २०७२ कार्तिक ७ गते ३:३८ मा प्रकाशित

Kanchanpur_district_locationकञ्चनपुर, ७ कात्तिक । कञ्चनपुर जिल्लामा कुष्ठरोग निवारण भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी देखा परे यसलाई कुष्ठरोग निवारण भएको मानिन्छ ।

कञ्चनपुरमा कुष्ठरोग निवारण दर त्योभन्दा कम शून्य दशमलव ५ प्रतिशत रहेको जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत उद्धव ठगुन्नाले बताउनुभयो ।

“जिल्लाको कुल जनसङ्ख्यामा ३५ जनामा मात्रै कुष्ठरोग रहेको छ,” उहाँले भन्नुभयो । स्वास्थ्य संस्थामा निःशुल्क कुष्ठरोगको उपचार हुने गरेको र कुष्ठरोग लागेका व्यक्ति जनचेतनाका कारण स्वास्थ्य संस्थामा पुग्न थालेका कारण कुष्ठरोगको निवारण हुँदै गएको क्षय कुष्ठरोग अधिकृत ठगुन्नाले बताउनुभयो ।

विसं २०४५ देखि यहाँ कुष्ठरोग निवारण कार्यक्रम लागू भएको थियो । कार्यक्रमको प्रभावकारिताले कुष्ठरोगी घट्दै गएका हुन् ।

अधिकृत ठगुन्नाका अनुसार गत वर्ष ४६ जना कुष्ठरोगी रहेकामा अहिले घटेर ३५ जना कुष्ठरोगी मात्रै रहेका छन् । माइक्रो ब्याक्टेरियम लेप्रे नामक आँखाले देख्न नसकिने कीटाणुको माध्यमबाट सर्ने कुष्ठरोगको बेलैमा उपचार गरे पूर्णरुपमा निदान गर्न सकिने उहाँले बताउनुभयो ।

समाजमा लाञ्छना लाग्ने डर र रोग लुकाउने प्रवृतिले कुष्ठरोगका रोगी विगतमा ढिलो स्वास्थ्य संस्थामा आउने कारणले अङ्गभङ्ग हुने सम्भावना बढी थियो ।

रोगको लक्षण देखिँदै बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेकाले रोग निवारणमा योगदान पुगेको उहाँको भनाइ छ ।

स्वास्थ्य संस्थामा कुष्ठरोगीले नियमित उपचार पूरा गरेपछि रु एक हजार यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था रहेको छ ।

‘मल्टी बेसिलरी’ भएका कुष्ठरोगीको १२ महिना र अन्यको छ महिनासम्म नियमित औषधि ख्वाउन दिएर उपचार गर्ने गरिन्छ ।

प्रतिक्रिया