पश्चिम म्याग्दीका आठ गाविसमा खानेपानीे समस्या

इनेप्लिज २०७२ कार्तिक ६ गते ३:०४ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ६ कात्तिक । खुला दिसामुक्त घोषणा भएका पश्चिम म्याग्दीका आठ गाविसमा खानेपानीको समस्या उत्पन्न भएको छ ।

खुला दिसामुक्त हुनका लागि चाहिने न्यूनतम मापदण्ड खानेपानीकै अभाव भएपछि ती गाविसमा खुला दिसामुक्त घोषणा कार्यान्वयनमा समस्या देखिएको छ । जिल्लाका भकिम्ली, अर्मन, बरङ्जा, मुना, देवीस्थान, रुम, ओखरबोट र मुदी गाविसमा खानेपानीको समस्या उत्पन्न भएको हो ।

जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्थानीय गाविसलगायतका निकायले अभियानमार्फत जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरे पनि खानेपानी अभावले घोषणा प्रभावित बनेको स्थानीयवासीको गुनासो छ ।

घोषणा कार्यक्रममा खानेपानीको पर्याप्तता नभएका ठाउँमा खानेपानी पु¥याउने आश्वासन दिइएको भए पनि त्यो अझै कार्यान्वयन हुन सकेको छैन । पानीकै समस्या चरम बनेपछि कतिपय गाउँका शौचालयसमेत प्रयोगविहीन बनेका छन् ।

त्यस्तै, समस्या झेलिरहेको एउटा गाविस हो, अर्मन गविस । अर्मनका अधिकांश गाउँ खानेपानीको अभावबाट गुज्रिरहेका छन् । गाउँका शौचालय पानीको अभावका कारण प्रयोगविहीन अवस्थामा रहेको स्थानीय टेकबहादुर कँडेलले बताउनुभयो ।

उहाँका अनुसार अर्मनका सबै वडाको समस्या उस्तै छ । खानेपानीका लागि स्थानीयस्तरबाट सामूहिक पहल गर्ने सोचमा रहेका कँडेलको भनाइ छ । जिल्लाको दुर्गम पश्चिम क्षेत्रका गाविसको समस्या अर्मनको जस्तै छ ।

उता मुना गाविसको दरगाउँका स्थानीयबासी पनि खानेपानीको चरम समस्यामा छन् । त्यहाँका स्थानीय डेढ घन्टाको बाटो हिँडेर ल्याएको एक गाग्री पानीले दिनभरिको आवश्यकता पूरा गर्नुपर्ने बाध्यतामा रहेको स्थानीय दिलबहादुर विकले बताउनुभयो ।

वर्षात्को समयमा पानीको समस्या केही कम हुने भए पनि हिउँद् र सुक्खायाममा भने पानीको चरम अभाव त्यस क्षेत्रका गाविसमा हुने गरेको छ । पश्चिम म्याग्दीका लुलाङ, मुुदी, मुना, गुर्जालगायतका गाविसमा पानीको समस्या रहेको स्थानीयवासी बताउँछन् । खुला दिसामुक्त गाविस घोषण भइसकेका गाविसमा पानीजस्तो आधारभूत आवश्यकताको परिपूर्ति गर्न सम्बन्धित निकायको ध्यान जान नसकेकोमा स्थानीयमा निराशा छाएको छ ।

यता जिविसले भने खुला दिसामुक्त भएका सबै गाविसमा पानीको सहज सुविधा नभएको स्वीकार गर्दै आएको छ । खानेपानीको सुविधाका लागि दुर्गम क्षेत्रका गाविसमा प्राथमिकताका साथ बजेट, योजना तथा कार्यक्रम लैजाने जिविस म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया