प्रवासी म्याग्देलीहरुको विश्व सम्मेलन सुरु हुँदै

इनेप्लिज २०७२ कार्तिक २ गते ३:३७ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २ कात्तिक । विश्वका विभिन्न देशमा रहेका प्रवासी म्याग्देलीहरुको प्रथम अधिवेशन तथा विश्व सम्मेलन आजदेखि सदरमुकाम बेनीमा सुरु हुँदैछ ।

विश्वभर छरिएर रहेका म्याग्देलीलाई एकताबद्ध गरी जिल्लाको विकासका लागि प्रवासीको लगानी भित्र्याउने उद्देश्यले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन १४ देशबाट प्रतिनिधि आएका छन् ।

म्याग्दीको विकासका लागि प्रवासीको लगानी भित्र्याउन घोषणापत्र जारी गर्दै सम्पन्न हुने सम्मेलनमार्फत प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) को नयाँ कार्यसमिति पनि चयन हुने जनाइएको छ ।

अधिवेशन तथा सम्मेलनको तयारी पूरा भएको र इन्धन अभावको बाबजुद सबै देशका प्रतिनिधि बेनी आइसकेको मोना म्याग्दीका अध्यक्ष सुवासकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बेलायत, हङ्कङ, जापान, बेल्जियम, पोर्चुगल, दोहा कतार, अस्टेलिया, बहराइन, स्पेन, न्युजिल्याड, दुबई, दक्षिण कोरिया र जर्मनमा रहेका म्याग्देली सम्बद्ध संस्थाबाट सम्मेलनमा सहभागी हुन प्रतिनिधिहरु बेनी आएका छन् ।

म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उद्घाटन गर्नुहुने उक्त कार्यक्रममा म्याग्दीका सांसदहरु नवराज शर्मा, नरदेवी पुन, रेशमबहादुर बानियाँ पनि उपस्थित हुनुहुने भएको छ ।

मङ्गलबार बन्दसत्रमा म्याग्दीको जलविद्युत्, कृषि र पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गरी छलफल गरी घोषणापत्र जारी गरिने मोनाका अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक प्रकाश पुनले बताउनुभयो ।

प्रतिक्रिया