मिर्गौला प्रत्यारोपणका लागि प्रवासीको सहयोग

इनेप्लिज २०७२ कार्तिक २ गते २:१६ मा प्रकाशित

kidneyesफलेवास (पर्वत), २ कात्तिक । अठ्ठाइस वर्षको उमेरमै दुवै मिर्गौला काम नलाग्ने भएपछि जीवन र मरणको दोसाँधमा पुगेका पर्वतको नाङ्लीबाङका एक युवालाई प्रवासमा रहेका नेपालीले मिर्गौला प्रत्यारोपणका लागि सहयोग गरेका छन् ।

पर्वतको नाङ्लीबाङका कृष्णबहादुर विकको मिर्गौला प्रत्यारोपणका लागि पर्वत सेवा समाज इजरायल र अमेरिकामा बस्ने नेपालीले सहयोग गरेका हुन् ।

विकको उपचारका लागि पर्वत सेवा समाज इजरायलका तर्फबाट रु एक लाख ४९ हजार २०६ र अमेरिकामा बस्दै आएका गङ्गा श्रेष्ठ र राजेन्द्र श्रेष्ठको पहलमा रु एक लाख १२ हजार ६७० गरी रु दुई लाख ७१ हजार ९७० सहयोग गरिएको हो ।

पर्वत सेवा समाज इजरायलका तर्फबाट सल्लाहकार एवम् गैरआवासीय नेपाली सङ्घ एनआरएन इजरायलकी उपाध्यक्ष सीमा प्रधानले सहयोग रकम पीडित विकलाई हस्तान्तरण गर्नुभयो ।

समाज स्थापनाको छोटो अवधिमा सहयोग सङ्कलन गरी धेरैजना बिरामी र भूकम्पपीडितलाई सहयोग गरिएको प्रधानले जानकारी दिनुभयो ।
साउदी अरब र मलेसियामा गरी नौ वर्ष विदेशमै बिताउनुभएका कृष्णबहादुर विकका दुवै मिर्गौलाले काम गर्न छाडेको तीन महिना भएको छ ।

विदेशमा कमाएको धन अहिलेसम्म उपचारमै सकिएको उहाँको भनाइ छ । अहिलेसम्म उपचारका लागि रु चार लाख सकिएको र मिर्गौला प्रत्यारोपण गर्न रु १२ लाख खर्च लाग्ने भएकाले उहाँले सहयोगको याचना गर्नुभयो ।

प्रतिक्रिया