ठूलो परिमाणमा पेस्तोल र विस्फोटक सामग्रीसहित एक महिला पक्राउ

इनेप्लिज २०७२ असोज २९ गते १०:२८ मा प्रकाशित

Taplejung_district_locationताप्लेजुङ, २९ असोज । ताप्लेजुङको विकट गाविस ईखाबुस्थित एक गोठबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित सर्वाधिक खोजीको सूचीमा रहेको एक समूहकी महिला सदस्य पक्राउ परेकी छन् ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ईखाबु गाविसकै देउमान लिम्बू (हाराहाङ) समूहकी सान्थाक्रा ताप्लेजुङकी ३३ वर्षीय मनकुमारी चोङ्वाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

हाराहाङलाई पक्राउ गर्न विशेष खोजी अभियानमा रहेको प्रहरीले ईखाबु–४ मा पर्ने चौरीखर्कको एउटा गोठमा लुकिछिपी बसेको अवस्थामा आज बिहान चोङ्वाङलाई पक्राउ गरेको हो । पक्राउ परेकी चोङ्बाङसँगै रहेका अरु छ जना भने भरुवा बन्दुक पड्काएर भागेको डिएसपी कोइरालाले बताउनुभएको छ ।

सो गोठबाट प्रहरीले चारवटा भरुवा बन्दुक, एकथान पेस्तोल, एउटा कटुवा बन्दुक, तीन थान मोबाइल सेट, पाइप बम बनाउन प्रयोग गरिने फलामका पाइप र बम बनाउन प्रयोग गरिने विस्फोटक सामग्रीसहित केही मिटर बिजुलीको तारसमेत बरामद गरेको छ । यस्तै विभिन्न भूमिगत सङ्गठनको पर्चा पम्प्लेटसमेत फेला परेको बताइएको छ ।

सदरमुकामदेखि करिब दुई दिनको पैदलयात्रामा मात्र पुग्न सकिने सो हिमाली क्षेत्रको गोठमा बसी तल रहेका गाउँमा आई स्थानीय जनतालाई धम्क्याउँदै अलैँची र रकम असुल्न हाराहाङसहित ऊ नेतृत्वको समूह सक्रिय रहेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा विगत केही महिनादेखि अनुसन्धान गर्दै आएकामा शुक्रबार बिहान करिब ४ बजे पक्राउ गरिएको हो ।

यस स्थानको भौगोलिक अवस्था विकट रहेकाले फरार रहेकाको खोजी कार्यमा समस्या भइरहेको प्रहरी प्रमुख कोइरालाले बताउनुभयो । पक्राउ परेकी महिला र विस्फोटक सामग्री सोही स्थानमा कडा सुरक्षाका बीच राखिएको छ ।

हाराहाङको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २ नम्बर ढोका नजिक २०७१ कात्तिक १६ मा बम विष्फोट, ज्यान मार्ने उद्योग, डकैतीका गरी तीन वटा र अन्य जिल्लामा एक दर्जनभन्दा बढी मुद्दा रहेको प्रहरीको भनाइ छ ।

हाराहाङले विभिन्न भूमिगत पार्टीको नाममा ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वी जिल्लामा पछिल्लो समय चन्दा आतङ्क मचाउँदै आएको प्रहरीको दाबी रहेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न भूमिगत पार्टीको नाममा सर्वसाधारणलाई आतङ्कित पार्दै आपराधिक क्रियाकलाप गर्दै आएका हुन् ।

पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत जिल्लामा किराँत लिम्बूवान राष्ट्रिय परिषद्, लिम्बूवान क्रान्तिकारी पार्टी, लिम्बूवान भूमि मुक्ति राष्ट्रिय पार्टी नेपाललगायतको नाममा विध्वंस मच्चाइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

जबर्जस्ती चन्दा, विष्फोट, ज्यान मार्ने उद्योग, हातहतियार खरखजानामा संलग्न भएर भूमिगत समूहको पर्चा फालेर सर्वसाधारणलाई आतङ्कित पार्ने यस्तो समूहलाई राजनीतिक संरक्षणमा रहेकोसमेत प्रहरीको दाबी छ ।

प्रतिक्रिया