विषाक्त खानाबाट ३२ जना बिरामी

इनेप्लिज २०७२ असोज २७ गते १३:५१ मा प्रकाशित

Mid day mil 2_0002तिलोत्तमा (रुपन्देही), २७ असोज । रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ खैरेनी बजारका दलित समुदायका ३२ जना व्यक्ति एकैपटक विषाक्त भोजनका कारण बिरामी परेका छन् ।

स्थानीय सन्तनारायण विकको घरमा सोमबार श्राद्ध खान गएका आफन्तहरु एकपछि अर्को अस्वस्थ भएपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा हिजो मङ्गलबार र आज ल्याइएको छ ।

अस्पतालका निमेसु डा राजेन्द्रप्रसाद खनालका अनुसार मङ्गलबार र आज दुई दिन देवदहमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा ३२ जना बिरामी आएको बताउनुभयो ।

मङ्गलबार २३ जना र आज थप नौ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आफूहरुले पुरी, तरकारी, काँक्रोको अचारलगायतका परिकार खाएका अस्पतालमा भर्ना बिरामीले बताएका छन् । उनीहरुमा ज्वरो आउने, झाडापखाला लाग्ने जस्ता समस्या देखिएको बताइएको छ । अझै केहीले अस्पताल भर्ना हुन पाएका छैनन् ।

बिरामी पर्नेमा देवदह वडा नं ६ की ५५ वर्षीया ज्योति विक, १३ वर्षीया स्मृति विक, ४० वर्षीया लीला विक, १७ वर्षीया जानकी विक, छ वर्षीया सलिना विक, १२ वर्षीय अजित विक, १० वर्षीय मनिष विकलगायतका रहेका छन् ।

प्रतिक्रिया