बीस लाखको कपडा बरामद

इनेप्लिज २०७२ असोज २७ गते १३:४३ मा प्रकाशित

काँकडभिट्टा (झापा), २७ असोज । झापाको भद्रपुरस्थित एक घरबाट प्रहरीले आज रु २० लाख बराबरको रेडिमेट कपडा बरामद गरेको छ ।

सशस्त्र सीमा सुरक्षा कार्यालय झापाले भद्रपुर–७ स्थित छविलाल रिजालको घरको कोठा भाडामा लिएर भारतबाट भन्सार छली अवैध रुपमा ल्याई भण्डारण गरी राखिएको सामान बरामद गरेको हो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाको नेतृत्वमा राष्ट्रिय अनुसन्धान कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर, आन्तरिक राजस्व कार्यालय मेची र छोटी भन्सार कार्यालय भद्रपुरका कर्मचारी टोलीले मुचुल्कासहित सामान जफत गरेको सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले बताउनुभयो ।

भद्रपुरका व्यापारीले आन्तरिक राजस्व कार्यालय मेचीमा गोदामसमेत दर्ता नगराई अवैध रुपमा भन्सार छलेर सो घरको कोठा भाडा लिएर काम गर्ने गरेको विशेष सूचना पाएपछि आज बिहान छापा मारेको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले छापा मारेर कुर्ता सुरुवाल तथा साडी गरी ३३ पोका कपडा बरामद गरेको छ ।

बरामद गरेको कपडासहित व्यापारीका नाममा रहेको भ्याट बिल, बिलबिजक तथा प्रज्ञापनपत्रसहित मेची भन्सार कार्यालय काँकडभिट्टामा आवश्यक कारबाहीका लागि आजै बुझाइसकेको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया