भारतीय नेतृत्वलाई कसैले गलत मोटिभेट गरिरहेको छ

इनेप्लिज २०७२ असोज २७ गते ९:३३ मा प्रकाशित

0subash-nemwang

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका एमाले सचिव प्रदिप ज्ञावली सरकार निर्माण अघि, मधेस आन्दोलन, संविधान निर्माणको विषयमा कन्भिन्स गर्न गर्न ओलीको दुतको रुपमा समेत दिल्ली गएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एमाले भित्रको बौद्धिक चिन्तकको रुपमा रहेका ज्ञावलीसँग ओलीको सत्तारोहण, अबको चुनौति, अवसर, मधेस आन्दोलन र नाकाबन्दी लगायतका विषयमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाई कसरी चिन्नु हुन्छ ?
केपी शर्मा ओली भन्ने वित्तिकै नेपाली राष्ट्रिय राजनीतिमा चार पाँच वटा विम्बहरु अगाडि आउँछन । केपी ओली त्यो ब्यक्तिको नाम हो जसले झण्डै १३–१४ वर्षको उमेरबाट निरकुंश राजतन्त्र विरुद्ध आन्दोलनमा होमियो । आफ्ना भर्भराउँदा १४ वर्ष जेलमा वितायो र निरकुंश तन्त्र विरुद्ध कहिल्यै घुँडा टेकेन । लोकतन्त्रको आन्दोलनमा एउटा अथक योद्धाको रुपमा हामीले उहाँलाई चिन्छौ । दोस्रो नेपालमा हिंसाको अन्त्य र दिगो शान्तिको स्थापनाको निम्ति अविचलित अडानमा रहिरहनु भयो । उहाँको अथक प्रयत्नबाट आज नेपालले एउटा नयाँ गोरेटो लिन सकेको छ । विहान एउटा कुरा, दिउसो अर्को कुरा र राती अर्को कुरा गर्ने खाल्को होईन आफ्ना अडानहरुमा दृढतापूर्वक उभिने, के भन्दा खेरी लोकप्रिय होईन्छ, ताली खाईन्छ भनेर होईन देश र जनताको लागि के भन्दा उपयूक्त हुन्छ भनेर जाने दृढ निश्चयी नेताको रुपमा पनि उहाँ चिनिनु हुन्छ । सारमा भन्दा केपी ओली दृढ, भिजिनरी र संकल्प सहितको नेताको रुपमा हामीले उहाँलाई चिन्न सक्छौ ।

ओलीको कार्यकालका चुनौतिहरु के के देख्नु भएको छ ?
निश्चयनै चुनौतिहरु गंभिर छन । पहिलो कुरा हामीले भर्खरै ऐतिहासिक सफलता हासिल गरेका छौ संविधान जारी गर्ने कुरामा । तर संविधान प्रति अहिले पनि तराई मधेसका केही ठाँउहरुमा केही समूदायहरुका असन्तुष्टीहरु छन । यद्यपी आईतवार यही संविधान भित्रको प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आउनु भएपछि अब संविधान सबैको साझा दस्तावेज भयो भन्ने कुरामा द्धिविधा रहेन । फेरि पनि केही असन्तुष्टीहरु, केही गुनासाहरु छन । त्यसलाई चिरेर संविधानालाई सर्वस्विकार्य दस्तावेज बनाउने वा संविधानको प्रभावकारी कार्यान्वयन गर्ने चुनौति पहिलो हो । दोस्रो गएको बैशाखको विनासकारी भुकम्पले दिएका घाउहरु पीडाहरु बाँकी छन । दोस्रो सर्वाधिक ठूलो चुनौति भुकम्प पछिको पुर्ननिर्माण हो । संविधान जारी भएसँगै मित्र राष्ट्र भारतसँग कतिपय मामिलामा असमझदारी देखिएको छ, सीमामा अघोषित नाकाबन्दीको स्थिति छ, पेट्रोलियम सहितका अत्याबश्यक बस्तुको सहज आपूर्तिमा ब्यवधान खडा गरिएको छ । यि सबै कुराहरुलाई चिर्दै दुई देशवीचको सम्बन्धलाई नयाँ उचाईमा उठाउने र सम्बन्धलाई सहज बनाउने कुरा चुनौति छ । चौथो कुरा चाँही लामो समयदेखि हामीले आर्थिक एजेण्डालाई, आर्थिक विकासलाई कहिल्यै पनि केन्द्रमा राख्न पाएनौ । सधै भरी राजनीतिक मुद्दामा अल्झिदा खेरी आर्थिक विकास र समृद्धीको एजेण्डा ओझेलमा परेको छ । त्यो कामलाई अगाडि लैजानु छ । तत्कालको ठूलो चुनौति चाँही म के देख्छु भने बास्तबमा यो संविधान, मुख्य राजनीतिक दलहरुवीचकोसहमति र सहकार्यको बलमा भएको थियो तर प्रधानमन्त्री निर्वाचनमा नेपाली काग्रेसले एउटा गलत निर्णय लियो, आफ्ना सभापतिलाई उम्मेदवार बनायो विगतका सहमति भन्दा पृथक ढंगले र परिणाम यो ढंगले आयो । काग्रेस अहिले प्रतिपक्षमा रहेको स्थिति छ । यस्तो अवस्थामा राष्ट्रिय सहमतिलाई निरन्तर अगाडि बढाउने एउटा दायित्व पनि छ ।

मधेस आन्दोलनको कसरी सुरक्षित अवतरण गराउनु हुन्छ त ?
केपी ओलीले संसदलाई संबोधन गर्ने क्रममा भन्नु भएको छ, मेरो बारेमा रहेका भ्रमहरुलाई, मेरा बारेमा रहेका आग्रहरुलाई ब्यवहारबाटै चिर्छु भन्नु भएको छ । त्यो नभन्दै उहाँको पक्षमा मधेसी मोर्चाको साना ठूला दलको समर्थन पनि प्राप्त भएको अवस्था छ । फोरम लोकतान्त्रिक पार्टी, मधेस समता पार्टी सहितको समर्थन उहाँले पाउनु भएको छ । यो स्थिति भित्र पहिलो कुरा नेकपा एमाले वा केपी शर्मा ओली मधेसका समस्याहरुको शान्तिपूर्ण समाधानको लागि दृढ संकल्पीत छौ । हामीले भनेका छौ, संविधानमा धेरै राम्रा कुराहरु आएका छन, केही कुरा छुटेका छन भने संविधान संसोधनकै बाटोबाट अगाडि जान सकिन्छ । अब संविधानलाई अस्विकार गर्ने, संविधानलाई निषेध गर्ने बाटो होईन कि यही संविधानलाई समृद्ध बनाउने बाटोबाट अगाडि जान सकिन्छ त्यसकोलागि बार्ता टोली पनि सरकारले बनाएको छ । त्यो बार्ता टोलीले पनि बार्ता गरिरहेको अवस्था छ । हामी अगाडि बढ्छौ, सबै समस्याको समाधान गर्छौ ।

केपी ओली मधेस विरोधी नेता, मधेसको एजेण्डा मन नपराउने नेता भएकोले उहाँले संविधान संसोधनमा पहल गर्नु हुन्न भन्ने आशंका पनि छ नि ?
त्यो एकदमै गलत र पूर्वाग्रही टिप्पणी हो । संसदमा बोल्दै उहाँ आफैले पनि त्यो कुराको खण्डन गरिसक्नु भएको छ । जो मान्छेको सिंगो जिन्दगी चाँही जनताको समान अधिकार, हक प्राप्तिको निम्ति, लोकतन्त्र प्राप्तिको निम्ति वितेको छ । त्यो ब्यक्तिको विषयमा यो खाल्को बुझाई झनै गलत हुन्छ । निश्चयनै उहाँको चिन्ता मुलुकमा राष्ट्रिय एकता सुदृढ होस समूदाय समूदाय वा जनता जनतावीचमा कुनै दुरी वा विभेद नहोस भन्ने कुरामा उहाँ सजग हुनु हुन्छ । उहाँ जातीय र सामाजिक सद्भावको पक्षमा हुनु हुन्छ । त्यसको अर्थ जायज उचित र अर्थपूर्ण मागहरुलाई संबोधन नगर्ने भन्ने कुरा आउँदैन । त्यो कुरामा उहाँ केन्द्रीत भएर लाग्नु भएको छ ।

त्यसो भए अब संविधान संसोधन हुन्छ ?
हुन्छ, अवश्य हुन्छ । आवश्यकता अनुसार संविधान संसोधन हुन्छ । जनताका जायज कुराहरुको सुनवाई हुन्छ । त्यस आधारमा हामी अगाडि बढ्छौ ।

मधेसी मोर्चाले उठाए जस्तो झापा देखि कञ्चनपुरसम्मको सीमांकनको कुरा मिल्छ ?
बार्ता भनेपछि सबैका सबै कुराहरु त्यही रुपमा पुरा हुन्छन भन्ने हुँदैन । उचित, जायज र सम्भव मागहरुको पूर्ति संविधान संसोधनमार्फत गरिन्छ । यो संविधानलाई सबैको स्विकार्य दस्तावेजको रुपमा स्थापित गर्न प्रयत्न गरिन्छ ।

मधेसको आन्दोलन कसरी टुङगिन्छ ?
केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा सुभकामना दिनु भएको छ । प्रधानमन्त्रीले केही कुरा उठाउनु पनि भएको छ । विगत केहि दिनबाट आपूर्ति असहज भएको कुरा उठाउनु भएको छ । समस्यालाई छलफल गरेर समाधान गर्ने भन्नु भएको छ । मलाई लाग्छ अहिले देखिएका यी समस्याहरु तत्काल समाधान हुँदै जान्छन ।

भारतीय प्रधानमन्त्रीले टेलिफोन गरेर के भन्नु भयो त ?
उहाँले बधाई दिनु भयो, कार्यकालको सफलताको कामना गर्नु भयो । उहाँको कार्यकालमा नेपाल भारत सम्बन्ध नयाँ उचाईमा उठ्ने विश्वास ब्यक्त गर्नु भयो । उहाँले एउटा थप शब्द पनि भन्नु भयो नेपाल भारत सम्बन्धमात्रै होईन समग्र सार्क क्षेत्रलाई नै विकासको गतिमा अगाडि बढाउनु पर्छ त्यसमा हामी मिलेर अगाडि बढौ र नेपाललाई समृद्ध र सम्मुनत बनाउने तपाईको प्रत्येक प्रयासमा भारतको सहयोग रहनेछ भनेर भन्नु भयो । प्रत्यूत्तरमा केपी शर्मा ओलीले खासगरी सीमा क्षेत्रमा देखिएको असहजताहरु र सेवामा प्रवाहमा भईरहेको अवरोधलाई तत्काल हटाउन आग्रह गर्नु भयो ।

त्यसो भए सीमामा देखिएको अवरोध तत्काल हट्छ ?
म आशाबादी छु, त्यो हट्छ र त्यो हट्नु पर्छ किनकी यस्ता खाल्का गतिविधीहरु दुबै देशको हितमा छैनन । यसले दुबै देशहरुलाई हित गर्दैन । नेपाल भारत सम्बन्धमा तिक्तता बढ्नु सकैको पनि हितमा छैन । यो कस्ले गरिरहेको छ, कस्ले खेलहरु खेलिरहेको छ ? नेपालको संविधान बन्दा स्वागत हुनु पर्ने ठाँउमा भारतको नेतृत्व वर्गलाई कस्ले गलत ढंगले मोटिभेट गरिरहेको छ हामीलाई थाहाँ छैन । तर मलाई लाग्छ कि अहिलेका यी अन्यौलहरुलाई चिरेर हामी सहज रुपले अघि बढ्छौ ।

मोदीले समस्या समाधानको प्रतिबद्धता ब्यक्त गरे होईनन ?
हो, नेपालको अहिलेको समस्या समाधानमा उहाँले तत्परता देखाउनुभयो । हामी अब त्यसलाई ब्यवहारमा हेर्दैछौ । किनकी कहिले गराई र भनाईमा विरोधाभाष पनि देखियो । गत वर्ष भारतीय प्रधानमन्त्री यहाँ आउँदा जुन उचाईबाट दुई देशवीचको सम्बन्ध अगाडि बढाउने कुरा गर्नु भएको थियो गएको डेढ दुई महिना यताको ब्यवहारमा धेरै प्रतिकुल अवस्थाहरु पनि देखा परे । त्यसो भएर उहाँले भन्नु भयो अब समस्या समाधान भई हाल्यो भन्ने सोच्दिन । त्यस्तो खाल्को अपेक्षा राख्नु पनि हुँदैन । के चाँही हामीलाई विश्वास छ भने उहाँले यस विचमा भईरहेका घटनाले भारतलाई , भारतीय नेतृत्व बर्गालाई र ब्यक्तिगत रुपमा नरेन्द्र मोदीलाई पनि परेको हानीको बारेमा कहि न कहि भारतले रिभ्यू गरिरहेको होला । एउटा उपयूक्त समयमा अन्त्य गर्छ भन्ने म विश्वास गर्छु ।

भारतले भ्रमणको निम्तो दिईसक्यो अब प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण छिट्टै हुन्न ?
अहिले भारतको यात्राको विषयमा हामीले केही पनि सोचेका छैनौ । मोदीले निम्ता दिनु उहाँको सौहाद्रता हो । त्यसकोलागि हामी धन्यबाद दिन्छौ । अहिले कुनै विदेश भ्रमण भन्दा पनि देश भित्रको समस्या समाधान चाँही हाम्रो प्राथमिकतामा छ ।

सरकारले कहिले पूर्णता पाउला ?
सानो आकारको मन्त्री मण्डल त सोमबार नै बनेको छ । तर पूर्णता पाउन चाँही केही समय लाग्छ । साना दललाई पनि सरकारमा ठाँउ दिन्छौ । बृहद सहमतिको सरकार भएकोले सबैलाई समेटिन्छ ।

नेपाली काग्रेसलाई पनि सरकार लिएर जानु हुन्छ ?
नेपाली काग्रेसलाई पनि हामी सहभागि गराउन चाहन्थ्यौ । तर कस्ले नेपाली काग्रेसलाई कस्ले गलत सल्लाह दियो कि उ गलत निर्णयमा पुग्न बाध्य भयो । सुशील कोइराला जसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो उहाँलाई विवादित बनाउने र तीन दलको एकता तोड्ने काम कस्ले गर्यो यो प्रश्नको जवाफ समयले पनि बताउला र नेपाली काग्रेसबाट पनि विस्तारै आउला ।

राष्ट्रपति चाँही कस्लाई बनाउनु हुन्छ ?
अहिले हामी त्यो विषयमा निष्कर्समा पुगिसेका छैनौ । एकदुई दिनमा छलफल गरेर निष्र्कसमा पुग्छौ ।

प्रतिक्रिया