कैदीले बाँसका मुढा बेचेर दसैँका लागि घर खर्च पठाउन थाले

इनेप्लिज २०७२ असोज २५ गते ३:५६ मा प्रकाशित

muda-finalदमौली, २५ असोज । तनहुँ कारागारका कैदीबन्दीले बाँसका मुढा बिक्री गरेर जम्मा भएको रकम दसैँका लागि घर खर्च पठाउन थालेका छन् ।

कारागारमा रहेका ५० भन्दा बढी कैदीबन्दीले मुढा बेचेर आएको रकम दसैँका लागि घर खर्च पठाउन थालेका हुन् ।

बन्दीका चौकीदार प्रेम परियारले कैदीबन्दीले मुढा बेचेर आएको रकम दसैँका लागि घर खर्च पठाउन थालेको बताउनुभयो ।

प्रत्येक कैदीले रु चार हजारदेखि रु पाँच हजारसम्म घर खर्च पठाउन थालेका हुन् उहाँले भन्नुभयो ।

कारागारका प्रमुख तीर्थनाथ खनालले पनि कैदीबन्दीले मुढा बेचेर दसैँका लागि घरखर्च पठाउन सुरु गरेको जानकारी दिनुभयो ।

कैदीहरु भुलबहादुर थापा, टीकाराम विक, हुमानसिंह थापा, सन्तबहादुर भट्ट, मनबहादुर घर्ती, वीरबहादुर विकलगायतका कैदीबन्दीले मुढा बेचेर राम्रो आम्दानी गर्दै आएको कारागारले जनाएको छ ।

कैदीहरुका ठेकेदार गोविन्द सेढाईंले मुढा बेचेर बर्सेनि रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । कैदीले बुनेका मुढा खरिद गरी उहाँले बजारमा पठाउने गर्नुहुन्छ ।

पोखरा, बागलुङ, दमौली, भिमाद, खैरेनीटार, बेँसीसहर, गोरखालगायतका बजारमा मुढा राम्रो बिक्री हुने गरेको कारागारका प्रमुख खनालले बताउनुभयो ।

हेर्दा पनि आकर्षकका साथै टिकाउ र गुणस्तरीय भएकाले कैदीबन्दीले बुनेका मुढाको माग अत्यधिक रहेको बताइएको छ । बाँस, दुई लाइनको रड, धागो, टायर, इनामेललगायतका सामग्री मुढा बुन्नका लागि प्रयोग गरिने कैदीहरु बताउँछन् ।

न्यूनतम रु २३५ देखि रु ५५० सम्ममा मुढा बिक्री हुने गरेको र कैदीले अर्डर बमोजिम बुनेका टी टेबुल एक हजारदेखि रु दुई हजार ५०० सम्म र डाइनिङ टेबल रु आठदेखि रु १२ हजारसम्ममा बेच्दै आएका छन् ।

भूकम्प गएपछि सामान अभावका कारण मुढा कम उत्पादन भई मागअनुसार पु¥याउन नसकिएको बन्दीका चौकीदार परियारको भनाइ छ । कारागारभित्रकै केही कैदीले जाल र नाम्लोसमेत बुन्ने गरेको चौकीदार परियारले बताउनुभयो । गतवर्ष पनि तनहुँ कारागारका कैदीबन्दीले दसैँका लागि घर खर्च पठाएका थिए ।

प्रतिक्रिया