बलिको खास अर्थ हो उपहार या नैवेद्य, चढाइने वस्तु विशेष । ऋग्वेदमा धेरै ठाउँ
(१।७०।९; ५।१।१०; ८।१००।९)मा बलिको प्रसङ्ग आएको छ । देवताको लागि बलि नैवेद्यका रूपमा समर्पण गरिन्छ । भोजन गर्नुभन्दा अगाडि देवता र पितृका उद्देश्यले चढाइने अन्नलाई नै बलि भनिन्छ । यसैलाई औसनी पनि भनिन्छ । पूजा, होम आदि यज्ञ सम्पन्न भएपछि क्षेत्रपाललाई चढाइने अन्न पञ्चमहायज्ञमध्ये एक भूतयज्ञ हो बलि । लोकहित वा राष्ट्रहितका निमित्त गरिने उत्सर्ग वा त्यागलाई पनि बलिदान भनिन्छ । बलि वैश्वदेव—ब्राहणले नित्य गर्नुपर्ने पञ्चमहायज्ञ हो । यो यज्ञ चुलो, ढिकी, जाँतो, सिलौटो, लोहोरो र कुचो आदिद्वारा अज्ञानमा हुन जाने हत्यामा लाग्ने पापको प्रायश्चितका लागि गरिने यज्ञ हो । यसलाई भूतयज्ञ भन्दछन् । (१)
—बल्यते दीयते इति–बल् दाने अर्थमा दान दिइने वस्तु बलि । वास्तवमा यसको व्यूत्पत्तिमा, मूलमा जाने हो भने बलि शब्द दान, त्याग, पूजा सामग्री, नैवेद्य, उपहार, कोसेली आदिको अर्थमा प्रयोग भएको छ ।
गाई, कुकुर, काग आदि पशुपक्षीलाई दिनका–दिन आफूले खानुभन्दा अगाडि दिइने ग्रास, अन्न विशेषलाई बलि भन्दछन् । यसरी गरिने वैदिक–पौराणिक–धार्मिक कृत्यमा कहीं पनि बलिका सन्दर्भमा पशुबलिको प्रसङ्ग आएको छैन । कसैको स्वामित्वमा रहेको वस्तु उसको अनुमति बिना आफ्नो स्वामित्वमा लिनुलाई चोरी, डकैती भनिन्छ । त्यस्तै कसैको (नारीको) स्वीकृति बिना यौनहिंसा गर्नुलाई बलात्कार भनिन्छ भने कसैको अनुमति बिना ज्यानै मार्नु, त्यसको मासु खानुलाई के अपराध भन्नु ठिक पर्ला ? त्यो चोरी हो, डकैती हो, अधर्म हो, अन्याय हो, हत्या हो, हिंसा हो । देवी–देवताका मन्दिरमा, मूर्तिमा जीवको हिंसा गर्नु, बलिदिनु शास्त्र विरुद्ध हो । आफ्ना सन्तानको रगत–मासुबाट आमा खुशी हुन्छिन् भन्ठान्नु महामूर्खता हो । विवेकशील, बुद्धिमान्, सज्जन, साधु, सन्त, महात्मा जीव– हिंसादेखि अत्यन्त दूर रहन्छन् । जीव–हत्या गरेर कुनै पनि प्राणीलाई मारेर, बलि दिएर पुण्य कमाउँछु भन्ठान्नु राक्षसी, दानवी, तामसी प्रकृतिका मानिसलाई मात्र सुहाउला । समझदार, पुण्यात्मा, साधु स्वभावका मान्छे यस्ता कुकर्मतिर पटक्कै लाग्दैनन् ।
अध्यात्म मार्गका पथिकका लागि जीव–हिंसा कदापि स्विकार्य हुँदैन । विश्वका प्रायः सबै धर्ममा अहिंसाको महान् महिमा गाइएको छ । वैदिक सनातन–धर्म, बौद्ध–धर्म र जैन–धर्ममा त अहिंसाको दिव्य प्रशंसा गरिएको छ । “अहिंसा परमो धर्मः” अहिंसा नै परमो धर्म हो भनी महाभारतमा उद्घोष गरिएको हुनाले पशुबलिबाट धर्म हुन्छ भन्ने कुरा कुन शास्त्रका आधारमा पत्याउने होला ! भगवान् महावीरले आफ्नो शिक्षाको उपदेशको मूल आधार बनाएका छन्—बाँच र बाँच्न देओ । ीष्खभ बलम भित ष्खिभ । (३)
अहिंसात्मक जीवन शैलीले मनुष्यलाई ऊध्र्वगतितिर उन्मुख गराउँछ । हिंसा नगर्ने मनुष्यको कहिल्यै अधोगति हुँदैन । (४) हिंसा गर्ने, हत्या गर्ने, मारकाट गर्ने, प्राणीमात्रलाई दुःख दिने मान्छे न त धार्मिक हुन्छ न त ध्यानी वा ज्ञानी । अर्कालाई काटेर, मारेर, रेटेर रगतको खोला बगाएर प्रसाद भन्दै मासु र हाड चपाएर कोही भक्त्त हुँदैन । नैतिक र चरित्रवान् पनि हुँदैन । अतः पशुबलि शास्त्र सम्मत कदापि होइन, धर्म कदापि होइन, संस्कृति त झनै ह्ुँदै होइन । यो त अधर्म हो, निषिद्ध कर्म हो, धर्म विरुद्ध हो ।(५)
—न दया मांस भोजिनः मासु खाने मान्छेमा दयाभाव पटक्कै हुँदैन । दया नभए दान दिन हातै उठ्दैन । दान नगर्नेलाई ध्यान लाग्दैन । ध्यानको अभ्यासमा दृढता नभए ज्ञान मार्गमा लाग्न सकिँदैन । ज्ञान नभए मोक्षलाभ हुँदैन । अहिंसा, दया, दान, आदिबाट आरम्भ भएको अध्यात्म यात्रा ज्ञानमा अनि मोक्षमा पुगेपछि टुङ्गिन्छ ।
अहिंसाको पूर्ण मात्रामा पालना नगरिकन, जीव हिंसा वा पशुबलि नरोकिकन हामी पूर्ण रूपले न त धार्मिक बन्न सक्छौँ, न त आध्यात्मिक नै । “दया नै धर्मको मूल हो” भन्ने अमर सूक्तिलाई बोधपूर्वक हृदयंगम नगरी पूर्ण स्वस्थ जीवन बाँच्न सकिँदैन । बोका, राँगा, कुखुरा, हाँस, च्याङ्रा, भेडा आदि अत्यन्त सरल, निरीह प्राणीको हत्या गर्नु, बलिका नाममा मार्नु र तिनको मासु घिच्नु मनुष्यका लागि जघन्य अपराध हो, अनैतिक कुकर्म हो । झन् देवता वा देवीका नाममा पशुपक्षी आदिको बलिदिनु त शास्त्र अनुमोदित पनि छैन, अनि मासु खानु स्वास्थ्यका लागि पनि हितकर कदापि छैन ।
यदि हिंसा गर्ने नै हो भने श्रुतिले बताए अनुसार विधिपूर्वक नियमपूर्वक यज्ञार्थ गर्नुपर्छ । मांस भोजनको लागि कदापि होइन । तर त्यस्तो वैदिक यज्ञ आज कलिकालमा संभव नै छैन । (६)
भगवान् बुद्धको अवतार पशुहिंसा निवारण गर्नकै लागि भएको हो । उहाँको मूल दर्शन हो—अहिंसा परमो धर्मः । अहिंसा नै अर्थात् सम्पूर्ण प्राणीलाई दया गर्नु, कुनै प्रकारको कष्ट नदिनु, नमार्नु नै धर्म हो । विश्वका कुनै धर्मले पनि जीव हिंसालाई धर्म हो भनेर भनेका छैनन् । मार्नु, काट्नु, मासु खानु, दुःख दिनु नै धर्म भए अधर्म खोज्न कहाँ जाने त ? अध्यात्म–मार्गका यात्रीले सबैभन्दा पहिले अहिंसा–व्रतको पालन गर्नेैपर्छ । धर्मपरायण व्यक्तिको पनि सबैभन्दा ठूलो गुण हो अहिंसा । कसैलाई पनि, कुनै समयमा पनि, कुनै स्थानमा पनि, कुनै प्रकारको पनि हिंसा, हत्या, पीडा, दुःख, कष्ट नदिनु नै अहिंसा हो ।
हिंसा तीन प्रकारका हुन्छन् ।
१. मनले अर्काको राम्रो नचिताउनु ।
२. वचनले बिझ्ने गरी भन्नु वा मार–काट भन्नु ।
३. कर्मले नै दुःख दिनु–हान्नु, मार्नु, पिटनु आदि ।
यसरी मनसा, वाचा, कर्मणा कुनै प्रकारको पनि कसैको हिंसा गर्नु पाप हो, दुस्कर्म हो, वेदले भनेको विकर्म हो, निषिद्ध कर्म हो, कुकर्म हो, अधर्म हो, विधर्म हो, परधर्म हो । हिंसा तीन
प्रकारका हुन्छन् अर्को दृष्टिकोणले हेर्दा—
१. आफैंले गरेको ।
२. अरुबाट गराइएको ।
३. अरुले गरेकोलाई आफूले पूर्ण समर्थन वा अनुमोदन गरिएको ।
हिंसा के कारणले गरिएको भनी कारणअनुसार पनि तीन थरीका हुन्छन्—
१. लोभपूर्वक आफैँले खानका लागि गरिएको वा छालाको लागि गरिएको ।
२. क्रोधबाट गरिएको अर्थात् प्रतिशोधका भावले वा द्वेषवश हुन गएको र
३. मोहवश गरिएको–कुरा नबुझीकन यसलाई मारेर मलाई धर्म हुन्छ भन्ने गलत धारणाले गरिएको हिंसा–पशुलाई बलि दिए धर्म हुन्छ भन्नु मोहवश हो ।
शास्त्रको यथार्थ मर्म बुझ्न नसकेर, बुझाउने गुरु नपाएर, अन्ध परम्परा बोकेर, उल्टो व्याख्या वा अपव्याख्या गरेर पनि हिंसामा, पशुबलिमा धेरैजसो मानिस अल्मलिरहेका छन् ।
योगसूत्रका सूत्रकार महर्षि पतञ्जलिले भन्नुभएको छ—अहिंसाप्रतिष्ठायां तत्सन्निधौ वैरत्यागः(पातञ्जल योगसूत्र ३५) अहिंसामा दृढस्थिति अर्थात् प्रबल निष्ठा भयो र त्यहीअनुसार आचार, विचार र व्यवहारमा ल्याउन सकियो भने त्यस्ता अहिंसक शुद्ध मन भएका योगीको नजिकमा सम्पूर्ण प्राणीहरूमा जन्मजातै भएको पारस्परिक वैरभाव(शत्रुताको भाव), हिंस्रक भाव समेत हटेर जान्छ । हामीले पढेका, सुनेका छौँ—ब्रहर्षि वशिष्ठ, महर्षि अगस्त्य आदिका आश्रमका वरिपरि बस्ने अत्यन्त हिंस्रक, मांसभोजी, बाघ, सिंह, चितुवा, स्याल आदि समेत खरायो, मृग, गाई, जस्ता अत्यन्त सरल शाकाहारी जन्तुसङ्ग खेल्दथे । वैरभाव थिएन, आत्मीय एवं मैत्री भावले व्यवहार गर्दथे । अहिंसा नै बाँच्ने शैली बनाएका अहिंसानिष्ठ ऋषि, योगी, सज्जन, महात्माको दया र सात्विक भावनाको प्रवाह यति तीव्र हुन्छ त्यसको सुवासले, प्रभावले तामसी, आसुरी, हिंस्रक भावना पनि त्यत्तिकै ओइलाएर विगलित हुन्छ, लज्जावती झारझैँ ।(२)
अत्यन्त पुण्यात्मा, पुण्यकर्मा महर्षि अगस्तिले आफ्नो पाइला जता–जता बढाउनु हुन्थ्यो उहाँको योगबल, तपोबलका प्रभावले त्यस ठाउँका पापात्मा निशाचर पनि वैरभावरहित र शान्त हुन्थे । अर्कालाई मार्ने खाने हिंस्रक भावना नै विलुप्त हुन्थ्यो भन्ने प्रसङ्ग आएको छ बाल्मीकि रामायणको अरण्यकाण्डमा ।
स्वामी विवेकानन्दले भनेका छन्—त्जभ तभकत या जबचmभिककलभकक(अहिंसा) ष्क तजभ बदकभलअभ या वभबयिगकथ अहिंसाका साधकमा डाह पटक्कै हुँदैन । डाह, द्वेष, क्रोध, मोह आदिले हिंसालाई निम्त्याउँछ ।
पशुबलि धार्मिक, सामाजिक र आर्थिक कुनै दृष्टिले पनि युक्तियुक्त छैन । यो अन्धपरम्परा हो । यसमा कुनै शास्त्रीय प्रमाण छैन—पशुबलि गर्नुपर्छ भन्ने सन्दर्भमा । वेद–वेदान्त–भागवत–योगवासिष्ठ आदि शास्त्र पढेको, मन्त्र उच्चारण गरेको मुखले र शुद्ध अन्तःकरणले अनुमोदन गरेको छैन पशुबलिलाई । यो त स्वादे जिब्राले, मांसभक्षीले, अत्यन्त त्र्रmुर, दयाहीन, स्वार्थी, शरीरलाई सर्वस्व मान्ने मान्छेको अनुहारका दानव, राक्षस, तामसी अधर्मी, विधर्मीले गरेको निर्णय हो । धर्म भनेको आत्मा हो ईश्वर हो ब्रह हो । ईश्वर नमान्ने अधर्मी हुन् । पशुबलि निषेध अभियानमा लागेका सज्जन नै धार्मिक र नैतिक हुन् । पशुबलि गर्ने, मासु, फूल आदि खाने अर्को जन्ममा हिंस्रक जनावर वा विषधर कालो सर्प हुन्छन् । मान्छे मार्नेलाई ज्यान सजाय दिने व्यवस्था मुलुकको कानुनमा भएझैँ जीवहिंसा, पशुबलि गर्नेलाई पनि सजाय दिनु पर्ने हो । बोल्न सक्दैन भन्दैमा, निर्धो र कमजोर छ भन्दैमा उसका तर्फबाट मुद्दा पैरवी गर्ने र वकालत गर्ने कोही छैन भन्दैमा रेट्नु, मार्नु, बलिदिनु र त्यसको मासु घिच्नु, चौटा लुछ्नु जघन्य अपराध हो । प्राणीप्रति नै अन्याय हो, अत्याचार हो । यस मुद्दाको छिनोफानो हुन्छ यमराजको एकल इजलासमा । फलतः त्यस्ता मांसभक्षी, धर्मध्वजीलाई, हत्यारालाई कुन नरकमा, कति वर्षको सजाय तोक्ने निर्णय, न्याय यमराजले नै गर्दछन् । यहाँको अदालतमा यस्तो प्रकारको अपराध र अन्यायको उपचारको व्यवस्था नभए तापनि धर्मराजका अदालतमा ती बलिका बोका, भेडा, च्याङ्रा, कुखुरा, हाँस, राँगा आदिले अवश्य पनि न्याय पाउने छन् ।
बलिदिनु पर्ने हो काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यको । बलिदिने भए श्रीफल
(नरिवल),बेल, उखु आदि अनेक प्रकारका फलको, पायस, बाबर, दही, दूध, घिउमा बनाइएका पकवान आदिको दिनुपर्छ । यी सात्विक हुन् । यिनलाई प्रसाद रूपमा ग्रहण गर्दा सत्वगुणको वृद्धि हुन्छ । माछा, मासु, रगत, रक्सी आदि चढाउनेले त्यही खान्छन् प्रसाद भनेर अनि मातिन्छन्, लडाइँ–झगडा गर्दछन् । देवी देवता यस्ता तामसी वस्तु खाँदैनन्, खाउ भन्दैनन् । तर मूर्ख स्वार्थी, जिब्रोका स्वादमा पल्केका विषयी आफू जे खान्छन् त्यही चढाउनु पर्छ भन्दछन् र बोका, कुखुरालाई रेट्दछन्, तिनको मासु घिच्दछन् । अनि आफूलाई धार्मिक, संस्कृति थाम्ने थाम भन्ठान्छन् । न त यस्ता आततायी क्रूर मांसभक्षी, मदोन्मत्त धार्मिक हुन्छन्, न त यी संस्कृतिका संवाहक नै हुन् । सोझा बोका मारेर, अति नै बोधा भेडा र च्याङ्रालाई छिनालेर तिमी वीर पुरुषार्थी बन्यौ ?
वर्णधर्म र आश्रम धर्म मान्ने वैदिक सनातनीदेखि लिएर यो नमान्नेहरूमा समेत हिजो आज पशुबलि कुनै पनि हालतमा पनि स्विकार्य नहुने कुरा विश्वव्यापी बन्दै छ । विशेषतः शाक्त संप्रदाय र तान्त्रिक संप्रदायमा चलेको पशुहिंसा र मांसाहारी प्रवृत्ति क्रमशः हट्दै र घट्दै गएको हामीले सुन्दै र पढ्दै आएका छौँ । नेपालमा पनि कुलायनको पूजामा धेरैले पशुबलि छोडिसकेका छन् । त्यस्तै अन्यत्र देवी देवताका मन्दिरमा, मूर्तिमा जुन मारकाट हुन्थ्यो त्यसमा धेरै मात्रामा न्यूनता आएको छ । पशुबलि निषेध अभियान नै चलेको छ हिजोआज चारैतिर । भारतमा पनि धेरै मात्रामा कम भएको समाचार र सूचना हामीलाई प्राप्त भएको छ । मांसाहारीले पनि पशुबलिको निषेध गर्न थालेका छन् । यो पनि यस अभियानका लागि सकारात्मक सोच हो ।
पशुबलि भने गर्ने तर आफू नखाने यस्ता सोच भएका पनि पाइन्छन् । कोही–कोही पशुबलि नगर भनी आँट गर्न भने नसक्ने तर आफू भने पशुहत्या पनि नगर्ने, मासु खाँदा पनि नखाने–यस्ता खाले पनि पाइए । अलि समझदार, पढेलेखेका, कुरा राम्रो बुझेका, आफूले नगरेका, नखाएका, आँटिला, आत्मबल भएका हामी जस्ताले पशुबलि पूर्ण मात्रामा निषेधै गर्नुपर्छ र मासु, अण्डा आदि, माछा आदि कुनै पनि जीवको हिंसा–हत्या पनि गर्न हुन्न र तिनको मासु पनि कदापि खानुहुन्न भनी अभियानमा लागि खुलेर विरोध गरेका छौँ मुखले, कलमले र व्यवहारले पनि ।
यसरी गर्दै गयो भने केही कालपछि बलिप्रथा समाप्तै हुनेछ, जसरी सतीप्रथा आज समाप्तै भएको छ । यसलाई कानुनतः नै निषेध गर्नुपर्छ भन्ने हाम्रो मान्यता र सोचाइ हो । नयाँ संविधानमा नै यो कुरा पार्नु पर्दथ्यो—हत्या र हिंसाका विरोधीहरूले नेपालको नयाँ संविधान बनाएको भए । जस्तो कुनै अपराधमा पनि मृत्युदण्ड दिइने छैन भन्न सकियो त्यस्तै नै अब कुनै बहानामा पनि, कुनै जीवको हत्या, हिंसा हुँदैन भनेको भए विश्वब्रहण्डभरको सर्वोत्कृष्ट संविधान हुने थियो । जसरी मानिसको नैसर्गिक अधिकारको उल्लेख गरिएको छ त्यसरी नै पशुपक्षीको पक्षमा पनि नैसर्गिक अधिकारमा दुईचार शब्द मात्र भए पनि नेपालको संविधानमा परेको भए विश्वभरका प्राणीले, पशुपक्षीले आशीर्वाद दिने थिए–संविधान निर्माताहरूलाई ।
मैले बाँच्ने मात्र होइन खाने, बोल्ने, पढ्ने, लेख्ने, सम्पत्ति राख्ने आदि इत्यादि सयौँ प्रकारका अधिकार मलाई चाहिएको छ भन्नसक्ने मान्छेले आफैँले पालेका, हुर्काएका बढाएका आफ्नै सन्तान सरहका भेडा, बाख्रा, राँगा, हाँस, कुखुरा, च्याङ्रा आदि पशुपक्षीको बाँच्न पाउने अधिकार छैन होला त ? यी सारा जीव जन्तुको तपाईंले सम्मति लिएर मारेको हो ? तिनको मासु खाएको हो ? कि तपाईंका देवी वा देवताले मेरा सन्तानको रगत मागेका छन् ? देवी वा देवताको नाममा रेटे वा छिनाले तापनि तपाईं एक थोपा रगत पनि छोड्नु हुन्न, पाएसम्म सोहोर्नु हुन्छ, एक चौटा पनि मासु देवी या देवतालाई छोड्नुहुन्न, आफैँ घिच्नु वा हसुर्नु हुन्छ । यही हो धर्म ? यही हो न्याय ? यही हो समावेसी ? यही हो सीमान्तकृत् संविधानको मर्म ? यो धर्मध्वजी, तथाकथित धार्मिक भनाउँदा ढोँगीहरूलाई, संविधान विज्ञ, कानुनका ज्ञाता, राजनैतिक नेता सबैसँग सोधिएको प्रश्न हो ।
पशुबलि नै दिने हो भने गोमन सर्पको, कुकुरको, सिंहको, हात्तीको, गिद्धको, कौवाको, बाघ–भालुको, चितुवाको किन दिइँदैन ? विचरा सोझा निरीह, मायालाग्दा बोका, खसी, च्याङ्रा, कुखुरा आदिको हत्या गरेर कत्रो पुरुषार्थ गर्यौ त ? केको वीरता प्रदर्शन गर्यौ त ? वीर गोर्खालीको इज्जत यत्तिमा नै सीमित भयो त ? विश्वका आलोक, नेपाल आमाका सपुत भगवान् बुद्धले परमधर्म रूप अहिंसालाई नै आफ्नो साधनाको, दर्शनको महान् सूत्र बनाए । त्यसैले वैदिक धर्मले पनि भगवान् बुद्धलाई आफ्नो नवम अवतारका रूपमा ग्रहण गरेको छ । (७)
हामीहरू आशा गर्दछौँ— हाम्रा देवीहरूले, हाम्रा भैरव र गणेशहरूले आफू पूर्णतया शाकाहारी भएको घोषणा गर्ने छन् र यिनका मन्दिरहरू पूर्णरूपमा शान्तिक्षेत्र घोषित हुनछन् । अनि त देवीभक्त्त, भैरवका उपासक, गणेशका पूजक, तन्त्रका साधक, परम्पराका अनुयायी साराका साराले नयाँ नेपाललाई बलि निषेधित क्षेत्र घोषित गरेर यही दर्शन र धर्मका संवाहक भएर शान्तिपूर्वक स्वस्थ जीवन बाँच्दै परमात्मा चिन्तन गर्दै आत्मस्वरूपमा विश्राम गर्नेछन् । यसैमा हामी सबैको कल्याण छ । शिवमस्तु !
२०७२ आश्विन २४ गते आइतबार, शान्तिकुना “शिव मन्दिर”, ललितपुर–५
(१) अमरकोश, नेपाली बृहद्शब्दकोष, हिन्दूधर्मकोश, हलायुधकोश आदि ।
मां स भक्षयिताऽमुत्र दस्य मांस मिहाद्म्यहम् । (मनुस्मृति ५।५५) जसलाई मारेर म त्यसको मासु खाँदैछु भोलि मां (मलाई) स (त्यसले) खाने छ ।
(२) अहिंसासत्यास्तेयब्रहचर्यापरिग्रहायमाः ।(पातञ्जल योगदर्शन साधनपाद ३०)
अहिंसा, सत्य, अस्तेय, ब्रहचर्य, अपरिग्रह यम हुन् ।
श्रीमद्भागवत ११।१९।३३मा पनि अहिंसालाई नै यमको पहिलो स्थानमा राखेको छ ।
(३)अहिंसाप्रतिष्ठायां तत्सन्निधौ वैरत्यागः । (पातञ्जल योगदर्शन साधनापाद ३५) अहिंसाको दृढ स्थिति भयो भने त्यो अहिंसक योगीका नजिकका सबै प्राणीहरूको पारस्परिक वैरभाव छुट्तछ ।
अहिंसा परमोधर्मः (श्रीमहाभारत, अनुशासनपर्व)
यदा प्रभृति चाकनान्ता दिगीयं पुण्यकर्मणा ।
तदाप्रभृति निर्वैराः प्रशान्ता रजनीचराः ।। (बाल्मीकिरामायण अरण्यकाण्ड ११।८३)
(४)अष्टादशपुराणेषु व्यासस्य वचनम् द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम् ।।
अष्टादश पुराणका प्रणेता वेदव्यासका अत्यन्त महत्वपूर्ण दुई ओटामात्र सन्देश छन् । पुण्यका लागि अरुको उपकार गर्नुपर्छ र अर्कालाई दुःख दियो भने पापको भागी बन्नुपर्छ । पुण्य भनेको उपकार हो र पाप भनेको अरुलाई दुःख कष्ट दिनु हो ।
(५)ना कृत्वा प्राणीनां हिंसा मांस उत्पघते क्वचित् ।
न च प्राणिबधः स्वग्र्यस्तस्मान्मांसं विवर्जयेत् ।।(मनुस्मृति ५।४८)
प्राणीलाई नमारिकन मासु कतैबाट आउँदैन । प्राणीलाई बध गर्दैमा स्वर्गादि पाइने होइन । त्यसकारण हत्या, हिंसा छोड र मासु खान पनि छोडिहाल ।
आहारशुद्धौ सत्वशुद्धिः सत्वशुद्धौ ध्रुवा स्मृतिः (छान्दोग्योपनिषद्७।२६।२) आहार शुद्ध भयो भने अन्तःकरण शुद्ध हुन्छ, अन्तःकरण शुद्ध भयो भने स्मृति दृढ हुन्छ, त्यसो भयो भने अज्ञान ग्रन्थी निवृत्त हुन्छ ।
अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।(श्रीमद्भगवद्गीता १६।२)
कसैको हत्या–हिंसा नगर्नु, साँचो बोल्नु, रिस नगर्नु, त्याग गर्नु, कसैको निन्दा नगर्नु…आदि दैवी सम्पत्ति हुन् ।
आचार परमो धर्मः श्रुत्युक्तः स्मार्त एव च । (मनुस्मृति १।१०८)
श्रुति–स्मृतिमा वर्णन गरिएको आचार नै परम धर्म हो ।
(६) यद्घ्राणभक्षो विहितः सुराया—स्तथा पशोरालभनं न हिंसा ।
एवं व्ययायः प्रजया न रत्या इमं विशुद्धं न विदुः स्वधर्मम् ।।(श्रीमद्भागवत ११।५।१३)
वेदादि शास्त्रमा जहाँ स्त्री–सङ्ग, मद्यपान, बलि आदिको विधिपूर्वक गर्नु भन्ने प्रसङ्ग आएको छ त्यसको भाव अर्कै छ । मद्य–आसव सुँघ्नाले पुग्छ, पशु मार्ने होइन, छुने मात्र हो, विवाह भोगका लागि होइन, सन्तान वृद्धिका लागि मात्र हो । अविधिपूर्वक भए उल्टो परिणाम आउँछ ।
हिंसायां यदि रागः स्याद् यज्ञ एव न चोदना । (श्रीमद्भागवत ११।२१।२९)
हिंसा नै गर्ने भए यज्ञमा गर विधिपूर्वक गर । यो हिंसा गर्न प्रेरित गरेको होइन नि बरु नगर्न पो हो ।
प्रत्येक वर्ष २५ नोभेम्बर मांसाहाररहित दिवस मनाउँछन्—विश्वका मानवहरू । यसबाट सिद्ध हुन्छ वर्षको एक दिन भए पनि अहिंसक, दयालु, कारुणिक बन । वास्तवमा सदाकाल अहिंसक बन । मांसभक्षी कदापि नबन । यसले यही सन्देश दिन्छ ।
(७) दुष्टयज्ञविघाताय पशुहिंसानिवृत्तये ।
बौद्धरूपं दधौ योऽसौ तस्मै देवाय ते नमः ।। (देवीभागवत)
सन्दर्भ सामग्रीहरू
ग्रन्थ लेखक वा अनुवादक प्रकाशक प्रकाशन मिति
१. श्रीमद्भगवद्गीता—श्रीमती मीनाकुमारी रिसाल (गायत्री) अनुवाद–शकुन्तला खत्री ललितपुर–वि.सं २०७१
२. मनुस्मृति—सं.डा. चमनलाल गौतम–संस्कृति संस्थान बरेली(द्वितीय संस्करण)
३. छान्दोग्योपनिषद्—गीताप्रेस, गोरखपुर–वि.सं२०२३, पञ्चम संस्करण
४. वाल्मीकिरामायण—गीताप्रेस, गोरखपुर–वि.सं २०३३, तृतीय संस्करण
५. पातञ्जलयोगदर्शन—टीका–नरकान्त अधिकारी–वि.सं २०६१, काठमाण्डौँ
६. श्रीमद्भागवतमहापुराण—गीताप्रेस, गोरखपुर–वि.सं २०३३ पञ्चम संस्करण
७. श्रीमद्देवीभागवत महापुराण—गीताप्रेस, गोरखपुर–वि.सं २०६५, तृतीय संस्करण
८. दुर्गापूजा र बलिको रहस्य—प्रा. शिवगोपाल रिसाल, स्वाध्याय परिवार ललितपुर, वि.सं २०७२, द्वितीय संस्करण
९. पशुबलि निषेध चेतना—सं. डा गोविन्द टण्डन, पशुबलि निषेध चेतना अभियान, काठमाडौँ २०६९
१०. महाभारत—गीताप्रेस, गोरखपुर, वि.सं २०४२, पञ्चम संस्करण
प्रतिक्रिया