बुबाको स्मृतिमा पुस्तकालय स्थापना

इनेप्लिज २०७२ असोज २४ गते ४:३६ मा प्रकाशित

बागलुङ, २४ असोज । आफ्ना स्वर्गीय बुबाको स्मृतिमा यहाँका एक व्यक्तिले पुस्तकालय स्थापना गर्नुभएको छ । जिल्लाको अमलाचौर–१ का दक्ष पौडेलले बुबा भीमनाथ शर्मा पौडेलको स्मृतिमा ‘भीम पुस्तकालय’ स्थापना गर्नुभएको हो ।

पृथ्वी उच्च माध्यमिक विद्यालयको परिसरमा स्थापित सो पुस्तकालय पौडेलले हालै विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । विसं २०६० मा भीमनाथ स्मृति प्रतिष्ठान गठन गरेर पुस्तकालयको भवन बनाए पनि २०६८ सालमा मात्र पुस्तकालयले पूर्णता पाएको थियो । पुस्तकालयको औपचारिक उद्घाटन गत शुक्रबार गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का अध्यक्ष शेष घलेले गर्नुभएको थियो ।

विद्यालयका संस्थापक तथा पूर्व अध्यक्षसमेत रहनुभएका स्वर्गीय पौडेलको स्मृतिलाई चिरस्थायी बनाउन पुस्तकालय स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रभु बैंकका निर्देशकसमेत रहनुभएका पौडलका छोरा दक्षले रु चार लाखको लगानीमा पुस्तकालय भवन निर्माण गर्नुभएको हो ।

पुस्तकालयमा अहिले पाँच हजारभन्दा बढी विभिन्न विषय र विधाका पुस्तक सङ्ग्रहित छन् । सामुदायिक रुपमा सञ्चालित पुस्तकालयको स्तर वृद्धिका लागि पुस्तकालयको संरक्षकसमेत रहनुभएका पौडेलले रु १० लाखको अक्षय कोषसमेत स्थापना गर्नुभएको छ ।

प्रतिक्रिया