महिला तथा बालबालिका कार्यालयको भवन निर्माण

इनेप्लिज २०७२ असोज २४ गते ४:३५ मा प्रकाशित

म्याग्दी, २४ असोज । महिला तथा बालबालिका कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । सदरमुकाम बेनीस्थित मङ्गलाघाटमा रु एक करोड ४१ लाख लगानीमा १२ कोठासहितको सुविधा सम्पन्न भवन निर्माण भएको हो ।

आव ०६८/६८ देखि निर्माण सुरु भएको भवनको पूर्वाधार तयार भइसकेपछि कार्यालयले आफ्नै भवनबाट सेवा सञ्चालन गरेको महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला शर्माले बताउनुभयो ।

आफ्नै भवन निर्माण भएपछि सेवाग्राही र कर्मचारीलाई राहत हुने कार्यालय प्रमुख शर्माको भनाइ छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमार्फत विनियोजन भएको बजेट र भवन डिभिजन कार्यालयको प्राविधिक सर्वेक्षणमा भवन निर्माण गरिएको हो ।

दुई वर्ष अगाडि माहारानथान नजिकैबाट खसेको पहिरोले निर्माणाधीन भवनमा क्षति पु¥याएपछि समयमै भवन निर्माण हुन सकेको थिएन । सुविधा सम्पन्न भवन निर्माण भएपछि कार्यालयमा सेवा लिन आउने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुनेभएको छ ।

यसैबीच, कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि अपाङ्गता हेल्प डेक्स स्थापना गर्ने भएको छ । नियमित परिचयपत्र वितरणलाई व्यवस्थित र अपाङ्गतासम्बन्धी सूचनालाई प्रभावकारी बनाउनका लागि छुट्टै कक्षको स्थापना गर्न लागिएको महिला विकास अधिकृत शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया