दसैं तथा खाना महोत्सव सुरु

इनेप्लिज २०७२ असोज २२ गते ११:१७ मा प्रकाशित

पोखरा, २२ असोज । सिटी रेवान पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा चौथो सिटी रेवान दसैं महोत्सव तथा खाना महोत्सव सुरु भएकोे छ ।

पर्यटन प्रवद्र्धन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित महोत्सव कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा दसैंंका लागि आवश्यक पर्ने उपभोग्य वस्तु नयाँ नोटदेखि खाद्यान्न, लत्ता कपडा, खसी, च्याङ्ग्र्रालगायतका सामान राखिने संस्थाका अध्यक्ष तथा महोत्सव आयोजक समितिका अध्यक्ष केपी शर्माले बताउनुभयो ।

महोत्सव आकर्षणका लागि लोक दोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट, कलाकारहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम, हास्य कलाकारको प्रस्तुती, एकल महिला नृत्य, रत्यौली र रेवान तारा बाल नृत्य प्रतियोगिता महोत्सवमा राखिएको छ ।

त्यस्तै महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, भारतबाट आएका कलाकारले भोजपुरी, बिहारी र हिन्दी नृत्य प्रस्तुत गर्ने छन् । महोत्सवमा दर्शकलाई कोदोका परिकार र भुटेका मकै खुवाउने पनि कार्यक्रम छ । महोत्सवमा १८० स्टल रहने छन् ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले महोत्सवको आज उद्घाटन गर्दै यस महोत्सवले पर्यटन प्रवद्र्धन तथा सर्वसाधारणलाई दसैंंका लागि चाहिने आवश्यक सरसामान खरिदका लागि सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया