नाकाबन्दीविरुद्ध साढे सत्ताइस हजार हस्ताक्षर सङ्कलन

इनेप्लिज २०७२ असोज २१ गते ५:२६ मा प्रकाशित

फलेवास (पर्वत), २१ असोज । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै पर्वतका गाउँगाउँमा सञ्चालन गरिएको हस्ताक्षर सङ्कलन अभियानमा २७ हजार ५०० हस्ताक्षर सङ्कलन भएका छन् ।

नेकपा (एमाले) निकट अनेरास्ववियु पर्वतले गत बिहीबारदेखि जिल्लाका गाउँ गाउँमा हस्ताक्षर अभियान सुरु गरेको थियो । एक सातासम्म जिल्लाका गाउँ गाउँमा पुगेर सङ्कलन गरिएका हस्ताक्षर पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत भारतीय दूतावासमा पठाइएको छ ।

हस्ताक्षर बुझाउँदै विद्यार्थीले नेपाली जनताकै चाहनअनुसार नेपालमा नयाँ संविधान जारी भएको सन्दर्भमा भारतले नाकाबन्दी र हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । उनीहरुले अहिले देखिएको समस्या तत्काल समाधान गरी मित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउन पनि आग्रह गरेका छन् ।

हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त हस्ताक्षर तत्काल सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो । अनेरास्ववियुले अभियानको सुरुवात सदरमुकाम कुस्माबाट गरेको थियो भने क्षेत्र नं १ को तिलहार, मिलनचोक, वारीबेनी तथा क्षेत्र नं २ को कार्किनेटा, फलेवास, हुवास र लुंखुमा हस्ताक्षर सङ्कलन गरिएको अनेरास्ववियु पर्वतका अध्यक्ष तेजप्रसाद शर्माले जानकारी दिनुभयो ।

विगत डेढ सातादेखिको नाकाबन्दीका कारण पर्वतमा खाना पकाउने एलपी ग्यास, पेट्रोलियम पदार्थको अभाव भएको छ भने बजारमा खाद्यवस्तुको मूल्य आकासिएको छ । पेट्रोलियम पदार्थको अभावका कारण यातायातका साधन नचल्दा जिल्लास्थित सरकारी कार्यालय पनि सुनसान जस्तै बनेका छन् ।

प्रतिक्रिया