आन्दोलनकारीले औँला काटिदिए

इनेप्लिज २०७२ असोज २० गते १३:५७ मा प्रकाशित

लुम्बिनी (रुपन्देही), २० असोज । भारतीय पक्षको आडमा आन्दोलन चर्काएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमि सुनौलीमा नेपाली नागरिकमाथि साङ्घातिक आक्रमण गरेका छन् ।

आन्दोलनकारीबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका घर बताउने कृष्ण क्षेत्रीको दायाँ हातको चार वटा आँैला काटिएका छन् । क्षेत्रीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

दिउँसो २ बजेदेखि चर्किएको आन्दोलनमा आन्दोलनकारीले भारतीय भूमिमा कामको सिलसिलामा पुगेका क्षेत्रीलाई आक्रमण गरेका हुन् ।

गत आइतबारदेखि रुपन्देहीको बेलहिया नाका ठप्प रहेको छ । आन्दोलनकारीले भारतीय भूमिमा बसेर आन्दोलन गर्दै ढुङ्गामुढा र सिसाको गुच्चा प्रयोग गरी गुलेलीले नेपालीमाथि आक्रमण गर्ने गरेका छन् । दुई बजेदेखि सुरु भएको ढुङ्गामुढासहितको आक्रमणबाट आठ जना प्रहरीसहित केही सर्वसाधारण पनि घाइते भएका छन् ।

प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर कुँवर, प्रहरी हवल्दार चन्द्रीनाथ, प्रहरी जवान तुलसी पुन, बुद्धि गन्धर्व, विनोद सुनार, राजेश गोसाईं, टेकबहादुर झेडी मगर र गजेन्द्र विष्ट घाइते भएको बताइएको छ ।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बेलहियामा तोडफोड गर्दै शान्तिद्वार नजिक रहेको निषेधित क्षेत्र पार गर्न खोज्दा झडप सुरु भएको थियो ।

आन्दोलनकारीले नेपालीमाथि नै साङ्घातिक आक्रमण गर्न थालेपछि स्थानीय बेलहियावासीले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आजको घटना दुःखद भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया