चाडबाडमा ठूला सार्वजनिक साधनलाई इन्धन उपलब्ध गराइने

इनेप्लिज २०७२ असोज २० गते १३:४४ मा प्रकाशित

काठमाडौँ, २० असोज । नेपाल आयल निगमले हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैँ तथा नेपाल संवत्, दीपावली, छठलगायतका पर्वका अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि ठूला सार्वजनिक सवारीसाधनलाई आवश्यक इन्धन उपलब्ध गराउने भएको छ ।

तराईका विभिन्न क्षेत्रमा भएको आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा कमी भएपछि निगमसँग रहेको मौज्दातको अधिकतम उपयोग गरी इन्धन उपलब्ध गराउने तयारी गरिएको हो । निगमले केही सातादेखि निगमसँग भएको मौज्दातलाई समुचित प्रयोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गर्दै आएको छ ।

निगमले आन्तरिक उडानलाई पनि निरन्तरता दिने गरी हवाई इन्धन उपलब्ध गराउन अधिकतम पहल गरेको छ । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चर्को इन्धनको अभाव हुँदै आएको छ ।

निगमले उपत्यकाका विभिन्न बिक्री डिपोबाट ३० हजार लिटर पेट्रोल र एक लाख ६६ हजार डिजेल आज उपलब्ध गराएको छ । निगमसँग मौज्दातलाई अधिकतम सदुपयोग गर्ने नीतिअनुसार व्यवस्थापन गरिएको आयल निमगका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।

उहाँले नेपालबाट पठाइएका ट्याङ्करले इन्धन भर्न नसकेको उल्लेख गर्दै राजनीतिक तहमा कुरा नमिलेसम्म सहज नहुने बताउनुभयो । निर्देशक खड्काले वैकल्पिक उपाय अवलम्बन गर्न निगमले गृहकार्य सुरु गरिसकेको उल्लेख गर्नु भयो ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार केही दिन अगाडि नेपालबाट गएका केही ट्याङ्करले मात्र इन्धन भर्न पाए पनि त्यो क्रम क्रमशः कम हुँदै गएको छ । नेपालले इन्धन भर्ने मुख्य डिपो बरौनी, रक्सौल र सिलगुडीमा एउटा पनि ट्याङ्करलाई आज इन्धन भर्न दिइएन् । अन्य स्थानबाट आज मात्र १५ ट्याङ्करले इन्धन पाएका छन् भने ग्यासका कुनै पनि बुलेट भरिएन ।

निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थको उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई, जोरबिजोर नम्बरलाई माइक्रोबसलाई १५ लिटर, मिनीबसलाई २० लिटर र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराएको निर्णय गरिसकेको छ ।

निगमले अति आवश्यक वस्तु ढुवानीमा संलग्न पिकअप, डेलिभरी भ्यानलगायतलाई जोरबिजोर नम्बरलाई जोरबिजोर गर्नेअनुसार १० लिटरका दरले उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अति आवश्यक सेवा जस्तै दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराइएको छ ।

ट्याक्सीलाई प्रतिसाता १० लिटरका दरले आइतबार र सोमबार मात्र जोरनम्बरकालाई जोर दिन र बिजोर नम्बरकालाई बिजोर गते परेको दिन पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । त्यस्तै अति आवश्यक सेवामा प्रयोग हुने जेनेरेटर सञ्चालनार्थ सीमित परिणाम प्रहरी कल्याण कोष पम्प नक्साल र शक्ति देवी पेट्रोल सेन्टर, लगनखेलबाट उपलब्ध गराएको छ ।

निजी सवारी साधन तथा टिपर, ट्रक मिनीट्रक र निर्माण सेवासँग संलग्नलाई पेट्रोलियम पदार्थ उपलब्ध गराएको छैन ।
लामो लाइन लाग्दासमेत पेट्रोलियम पदार्थ पाउनसक्ने अवस्था छैन । जसका कारण पेट्रोलपम्प अगाडि लामो लाइन लाग्ने गरेको छ । आयात नै नभए पनि निगमसँग मौज्दात रहेको पेट्रोलियम पदार्थ वितरणमा विभिन्न उपाय अवलम्बन गर्नुपर्ने बाध्यता छ ।

पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योगधन्दा, अस्पताल, विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म सार्थक निर्णय भने हुन सकेको छैन ।

निगमले सामान्यरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । अस्पताल, नर्सिङ होम, बैंक तथा वित्तीय संस्थालगायत अत्यावश्यक क्षेत्रमा चौबीसैँ घन्टा विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया