जयरामघाटमा अस्थायी बेलिब्रिज राख्न श्रमदान

इनेप्लिज २०७२ असोज २० गते ३:०० मा प्रकाशित

खोटाङ, १९ असोज । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा अस्थायी बेलिब्रिज राख्न श्रमदान गरिएको छ । खोटाङलाई तराई र राजधानीसँग जोड्ने एक मात्र नाकाका रुपमा रहेको जयरामघाटमा अस्थायी बेलिब्रिज सञ्चालन गर्न मङ्गलबार श्रमदान गरिएको हो ।

पन्ध्र दिनभित्र सञ्चालनमा ल्याउने गरी जडान गर्न थालिएको बेलिब्रिजका लागि मङ्गलबार खोटाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद पाँचकर्ण राई (पिके), प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, प्रहरी नायब उपरीक्षक विद्यान्द माझी, यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घका पदाधिकारीको टोलीले श्रमदान गरेका हुन् । उनीहरुले नेपाल सरकारको सडक विभागअन्तर्गत हर्कपुर–ओखलढुङ्गा सडक डिभिजन मातहतको बेलिब्रिजको पुरानो जग भत्काएर नयाँ जग बनाउने काममा श्रमदान गरेका छन् ।

नदीमा पानीको बहाव बढेसँगै गत जेठ अन्तिम साता झिकिएको बेलिब्रिज मङ्गलबारबाट जडान सुरु गरिएको हो । चाँडो बेलिब्रिज सञ्चालनमा ल्याउन उत्साहस्वरुप श्रमदान गरिएको सांसद राईले जानकारी दिनुभयो । हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रिज वर्षा लागेपछि र नदीमा पानीको बहाव बढेसँगै झिकिने र पानीको बहाव घटेपछि पुनः राख्ने गरिएको छ । जयरामघाटमा निर्माणाधीन मोटर जाने पुल ठेकेदारको लापर्वाहीले तोकिएको समयमा सम्पन्न हुन नसक्दा हरेक वर्षको हिउँदमा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ ।

प्रतिक्रिया